प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री ?

नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शपथ लिनुभएको हो ।

यसअघि प्रधानमन्त्री कार्कीले सुरुमा आइतबार राष्ट्रपति पौडेलसमक्ष चार जनाको नाम सिफारिस गर्नुभएको थियो । तर खगेन्द्र सुनारको नाम विवादमा आएपछि काटियो भने गणपतिलाल श्रेष्ठको पनि आइतबार शपथ हुन् सकेन ।

डा गौतम स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुनुहुन्छ भने गुप्ता जेनजी आन्दोलनका अगुवा हुनुहुन्छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँहरुलाई राष्ट्रपति पौडेलले आज नियुक्ति गर्नुभएको थियो ।

गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १० पुगेको छ । यसअघि गत भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार भएको थियो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, मन्त्रीगण, प्रनिधिसभाका उपसभामुख इन्दिरा राना, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

सम्बन्धित समाचार