सभामा बोल्दैगर्दा ढल्नुभएका जिफन्टका उपाध्यक्ष गौतमको निधन

उद्योगमा विद्युत् कटौती भएको बिरोधमा मन्तव्य राख्दै गर्दा ढल्नुभएका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको आज यहाँ मृत्यु भएको हो ।

सम्बोधनका क्रममा विद्युत महशुल भुक्तानी नगरेको निहुँमा लाइन काटिदिँदा २५ हजार श्रमिकको रोजगारी गुमेको तथा उद्योगी व्यवसाय धरापमा परेको भन्दै उहाँ आक्रोसित देखिनुहन्थ्यो ।

‘श्रमिकलाई गुमाउन नचाहेको’ बताउँदै गर्दा उहाँको बोली लरबरिएको सुनिन्थ्यो भने ‘अतःयो कारणले…’ भन्दै गर्दा उहाँ ढल्नुभएको र तुरुन्तै अस्पताल पुर्याउँदा उहाँको निधन भइसकेको भन्ने दुःखद समाचर सुन्न परेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

सो कार्यक्रममा करिब तीन मिनेट मात्र मन्तव्य राख्न भ्याउनुभएका उपाध्यक्ष गौतम अकस्मात ढल्नुभएपछि करिब १५ मिनेटभित्र नजिकको अस्पताल पुर्याइएपनि उहाँको निधन भइसकेको अस्पताल प्रशासनले जनाएको छ ।

वुटवल ज्योतिनगरका ६२ वर्षीय गौतमले मुलुकको ट्रेड युनियन आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआउनुभएको थियो । यस क्षेत्रका १३ वटा उद्योगमा विद्युत् कटौती भएको विरोधमा आयोजित उक्त कार्यक्रममा पनि उहाँले श्रमिक तथा मजदुरकै पक्षमा बोल्नुभएको सङ्घका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।



सम्बन्धित समाचार