निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छ : प्रवक्ता महत

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा धारणा राख्नुहुने केन्द्रीय सदस्यले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राख्नुभएको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताउनुभएको छ ।

उहाँका अनुसार अधिकांश केन्द्रीय सदस्यले राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिएर जानुपर्ने धारणा राख्दै सुरक्षाको प्रत्याभूति गर्न सरकारलाई दबाब दिँदै निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

“संसद् विघटनका विषयमा संवैधानिक कुरा पनि उठेको छ, नियमित महाधिवेशनमा नै जोड दिनुपर्छ भन्ने अधिकांशको धारणा छ, महाधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्ने बहस जारी नै छ, अरु बाँकी साथीहरूले भोलि पनि धारणा राख्नेक्रम जारी छ”, उहाँले भन्नुभयो ।

बिहीबारको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक., लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यसमितिको बैठक भोलि २०८२ कात्तिक १४ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा पुनःबस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभयो ।

सम्बन्धित समाचार