नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कात्तिक ।


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न पार्टीसँगको एकता प्रक्रिया ठीक ढङ्गबाट अगाडि बढिरहेको बताउनुभएको छ ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा शनिबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उहाँले पार्टीभित्र फरक मत राख्दै आउनुभएका नेता जनार्दन शर्मा पनि पार्टीको केन्द्रीय समिति बैठकपछि सहमत हुने विश्वास व्यक्त गर्नुभयो ।
संयोजक दाहालले भन्नुभयो, “आजको बैठक राम्रो भएको छ, एकताका लागि पार्टी एकजुट छ । जनार्दनले आफ्नो विषय राख्नुभएको छ,केन्द्रीय समितिको बैठकसम्म उहाँ पनि एक हुनुपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ ।”
नेता शर्माले शनिबारको सचिवालय बैठकमा नेकपा (एकीकृत समाजवादी) सँगको एकता प्रक्रिया तत्काल स्थगित गर्नुपर्ने मागसहित आफ्ना कुरा राखेर बैठकबाट बाहिरिनुभएको थियो ।
शनिबारको सचिवालय बैठकले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न पार्टीसँग चाँडै एकता गर्ने निर्णय गरेको छ ।

