राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठन : पूर्वप्रधानमन्त्री खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा उत्पन्न राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठन गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार आयोजित भेलामा उहाँले पार्टीलाई व्यापक पुनर्गठन गरी सङ्गठनलाई थप सशक्त गर्न आवश्यक रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले राजनीतिमा युवालाई अगाडि बढाउन पार्टी नेतृत्व पुस्तान्तरण गर्दै पुराना पुस्ताको नेतृत्वले बिदा लिनुपर्नेमा बताउनुभयो ।

वामपन्थी शक्तिले पार्टीभित्रको आफ्ना वैचारिक दृष्टिकोण प्रष्ट गरी आन्तरिक विवाद हल गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले त्यसपछि गरिने एकता दीर्घकालीन हुने विचार व्यक्त गर्नुभयो ।

“मुलुकमा छरिएका कम्युनिष्ट पार्टीमा नेतृत्व हस्तान्तरणको समस्याले कम्युनिष्ट आन्दोलन जुट्ने र फुट्ने प्रक्रियामा छ । वैचारिक दृष्टिकोणसहित नेतृत्व हस्तान्तरण गर्दै पार्टी पुनर्गठनको आवश्यकता छ । त्यसले मात्रै सामाजिक न्याय, आर्थिक रुपान्तरणका कार्यक्रम कार्यान्वयन गर्दै अगाडि बढ्न सकिन्छ”, खनालले भन्नुभयो ।

उहाँले मुलुकमा सुशासन कायम गर्न नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिँदै निष्पक्ष छानबिन प्रक्रियाबाट दोषी देखिएका नेतालाई पार्टी जिम्मेवारीबाट अलग गरिन्ुपर्ने धारणा राख्नुभयो ।

पार्टी महासचिव घनश्याम भुसालले कम्युनिष्ट पार्टीमा विकृति र विसङ्गति फैलिएकाले नेतृत्व हस्तान्तरणको कार्ययोजनासहित वाम एकता गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिलाई सही दिशा निर्देश गर्न वामशक्ति एकताबद्ध हुन जरुरी रहेको र पुराना पुस्ताको नेतृत्वले बिदा लिनुपर्ने उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचार