अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नेतान्याहूलाई माफी दिन राष्ट्रपति हर्जोगसँग आग्रह

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट एक पत्र प्राप्त भएको बताउनुभएको छ । पत्रमा भ्रष्टाचारका तीन अलगअलग मुद्दामा मुद्दाको सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई माफी दिन आग्रह गरिएको छ ।

प्रधानमन्त्री नेतन्याहूले चलिरहेका अदालती मुद्दाहरूमा कुनै पनि गलत काम नगरेको बारम्बार बताइरहनुभएको छ । अहिलेसम्म कुनै निर्णय भइसकेको छैन र नेतन्याहूका समर्थकहरूले मुद्दालाई राजनीतिक रूपमा प्रेरित भन्दै आएका छन् ।

गत अक्टोबरमा इजरायली संसदमा सम्बोधन गर्दा पनि ट्रम्पले हर्जोगलाई नेतान्याहूलाई माफी दिन सुझाव दिनुभएको थियो । “राष्ट्रपति हर्जोगले अमेरिकी राष्ट्रपति ट्रम्पबाट पत्र प्राप्त गर्नुभएको छ, जसमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई माफी दिन विचार गर्न आग्रह गरिएको छ,” हर्जोगको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पत्रमा ट्रम्पले हर्जोगलाई ‘हामीले मिलेर कम्तीमा तीन हजार वर्षदेखि खोज्दै आएको शान्ति सुरक्षित गरेको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, “म तपाईंहरूलाई प्रधानमन्त्री नेतान्याहूलाई पूर्ण रूपमा माफी दिन आह्वान गर्दछु, जो युद्धको समयमा एक शक्तिशाली र निर्णायक प्रधानमन्त्रीको रूपमा उभिनुभएको छ ।”

“म इजरायली न्याय प्रणालीको स्वतन्त्रताको पूर्ण सम्मान गर्दछु । मलाई विश्वास छ बीबी (नेतन्याहु)को बिरूद्ध यो ‘मुद्दा’ अनुचित राजनीतिक, अभियोजन हो,” पत्रमा भनिएको छ ।

नेतान्याहू र उहाँकी पत्नी सारामाथि राजनीतिक पक्षको बदलामा अर्बपतिहरूबाट सिगार, गहना र स्याम्पेन जस्ता दुई लाख ६० हजार डलरभन्दा बढी मूल्यका विलासिताका सामानहरू स्वीकार गरेको आरोप लगाइएको छ ।

उहाँमाथि दुई अन्य मुद्दाहरूमा दुई इजरायली सञ्चारमाध्यमबाट अधिक अनुकूल कभरेजको लागि कुराकानी गर्ने प्रयास गरेको आरोप पनि लगाइएको छ ।

हर्जोगको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, “इजरायली राष्ट्रपतिले ट्रम्पलाई उच्च सम्मान गर्नुहुन्छ र राष्ट्रपति ट्रम्पको इजरायलप्रति अटुट समर्थनका लागि गहिरो प्रशंसा व्यक्त गरिएको छ ।”

“सँगसँगै मुद्दाको सामना नगर्न माफी माग्ने जो कोहीले पनि स्थापित प्रक्रिया अनुसार राष्ट्रपति समक्ष औपचारिक अनुरोध पेश गर्नुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

सन् २०२२ को अन्त्यमा सुरु भएको आफ्नो वर्तमान कार्यकालमा नेतन्याहूले दूरगामी न्यायिक सुधारको प्रस्ताव गर्नुभएको छ भने आलोचकहरूले अदालतलाई कमजोर बनाउन खोजेको बताएका छन् ।

यसले ठूलो विरोध प्रदर्शनलाई प्रेरित गरेको थियो र यो सन् २०२३ अक्टोबरमा गाजा युद्धको सुरुवातपछि मात्र रोकिएको थियो ।

ट्रम्प आफैँले लामो समयदेखि आफ्ना राजनीतिक विरोधीहरूले आफ्नो पदबाट बाहिर रहँदा न्याय विभागलाई निशाना बनाउन प्रयोग गरेको आरोप लगाउँदै आउनुभएको छ ।

सम्बन्धित समाचार