नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ कात्तिक ।


दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरुप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।
त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ ।
सचिव खड्काले पहिलो पटक एनपिएलका खेलहरु फ्लडलाइटमा सञ्चालन गर्न लागिएकोले दर्शकलाई नयाँ स्वाद हुने बताउनुभयो । खड्काले एनपिएल अवधिभर कुनै पनि आन्दोलनका कार्यक्रमहरु नगर्न आग्रह पनि गर्नुभयो । यो संस्करणमा क्यानले ३५ करोड रुपैयाँभन्दा बढी उठ्ने अनुमान गरेको छ ।
सचिव खड्काले १५ करोड ३० लाख प्रायोजकबाट, ९ करोड सहभागी टिमहरुबाट , ओटिटीबाट उठेको रकमबाट ५ करोड ३० लाख रुपैयाँ कटाएर बाँकी रहेको रकमको ७१ प्रतिशत र ८ देखि १२ करोड टिकटबाट उठने अनुमान गरेको बताउनुभयो ।
एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ ।

