नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ मंसिर ।


संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर कपमा नेपालले हङकङलाई १ सय १९ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जीत हो ।
जीतका लागि २७१ रनको चुनौती पछ्याएको हङ्कङ ४०.५ ओभरमा १ सय ५१ रनमा समेटियो । उसका कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए । बलिङमा नेपालीका अप्रजित पौडेलले ४ विकेट लिए भने कप्तान अशोक धामीको भागमा ३ विकेट रह्यो ।
यसअघि अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनाएको थियो । कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे । यस्तै दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे । हङ्कङका अभिमन्यु गणेशन र डेनियल नक्सालेसमान दुई-दुई विकेट हात पारे ।
खेलमा नेपालका कप्तान धामी प्लेयर अफ द म्याचसमेत चुनिए । नेपालले यसअघि पहिलो खेलमा नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेकोे थियो ।
१४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।
