नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।


राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय २९ रन बनायो । कर्णालीको इमरान शेखले सर्वाधिक ३३ रन बनाए भने गुलसन झाले १९ रन जोडे ।
त्यस्तै कप्तान सोमपाल कामीले १८ रन जोड्दा प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजीबुल्लाह जाद्रानले १३ रन बनाए ।जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले समान दुई-दुई विकेट लिए भने संगीथ कुरे, अनिलकुमार साह र माज सदाकताको नाममा समान एक-एक विकेट रह्यो ।
कर्णालीले दिएको १ सय ३० रनको लक्ष्य लियेरमैदन उत्रेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन मात्र बनायो । जनकपुरको लागि संजय कृष्णमूर्तीले ३९ बलमा एक चौका र चार छक्कासहित ५१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै संगीथ कुरेले २५ रन जोड्दा जान निकोल लोफ्टी-इटनले १३ र माज सदाकताले १२ रन बनाए ।
कर्णालीको लागि विलियम बोसिस्टोले दुई विकेट लिए भने मार्क वाट, पावर सराफ, नन्दन यादव र सोमपाल कामीको भागमा समान एक-एक विकेट रह्यो । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि खेलेका हुन् ।
