फागुन १० सम्म सबै जिल्लामा मतपत्रलगायत निर्वाचन सामग्री पुर्याउने गरी काम भइराखेको छ : आयोग

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतपत्र छपाइ सुरु गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले शुक्रबार काठमाडौँमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन १० गतेसम्म सबै जिल्लामा मतपत्रलगायत निर्वाचनका लागि आवश्यक सामग्री पुर्याउने गरी काम गर्नेक्रममा समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गर्न लागिएको जानकारी गराउनुभएको हो ।

समानुपातिकतर्फको मतपत्र सबै जिल्ला र निर्वाचन क्षेत्रमा एकै प्रकारको हुने भएकाले छपाइ सुरु गर्न लागिएको उहाँले बताउनुभयो । प्रत्यक्ष निर्वाचनतर्फको मनोनयपत्र भने निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते तोकिएको छ ।

प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा फरक मतपत्र चाहिने भएको माघ ९ गते पछि मात्र छपाइ सुरु गरिने प्रवक्ता भट्टराईले बताउनुभयो । दुवै निर्वाचन प्रणालीलाई गरी चार करोड मतपत्र छाप्न लागिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ दुई करोड र समानुपातिकतर्फ पनि दुई करोड गरी चार करोड मतपत्र छाप्न लागिएको हो ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । मतदाता सङ्ख्याका आधारमा दुवै निर्वाचन प्रणालीतर्फ दुई÷दुई करोड गरी चार करोड मतपत्र छपाइ गर्न लागिएको हो । २०७९ सालमा मत हालेकासम्मलाई मतदाता परिचयपत्र दिइएकाले यस वर्ष नयाँ मतदाता बनेकालाई परिचयपत्र पनि दिइने भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ समानुपातिक समावेशी प्रतिनिधित्व गराउन बन्दसूचीलाई सच्याइने पनि प्रवक्ता भट्टराईले बताउनुभयो । मतदान पूर्वका सबै निर्वाचनसम्बन्धी काम नेपाल प्रहरी हेर्ने छ । मतदानपछिका काम हेर्ने गरी नेपाल प्रहरी निर्वाचन प्रहरी छनोट गर्ने जनाइएको छ ।

सम्बन्धित समाचार