एनएसएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : दीपेन्द्र र एरिका उत्कृष्ट वर्ष खेलाडी

पलेसालाई ‘ट्रेलब्लेजर अफ दि इयर’ अवार्ड

पारा तेक्वान्दोकी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ मा ट्रेलब्लेजर अफ दि इयर अवार्डबाट सम्मानित हुनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार पोखराको राष्ट्रिय सभाहलमा आयोजना गरेको स्पोर्टस् अवार्डको २२औँ संस्करणमा पोखरा महानगरपलिकाका प्रमुख धनराज आचार्यले पलेसालाई अवार्ड प्रदान गर्नुभयो । स्पोर्टस् अवार्ड पहिलो पटक मोफसलमा आयोजना भएको हो ।

पेरिस पारा ओलम्पिकका काश्यपदक विजेता पलेसालाई नेपाली खेलकुदकी पथप्रदर्शकको सम्मान दिइएको हो । पलेसा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुन् । गत वर्ष पलेसा एनएसजेएफ पारा एथ्लेट अवार्डबाट सम्मानित हुनुभएको थियो ।

करातेकी एरिका गुरुङ र क्रिकेटर दीपेन्द्रसंह ऐरी एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ को वर्ष खेलाडी घोषित भए । यस अवार्डका लागि क्रिकेटकै कुशल भूर्तेल, उसुका विजय सिञ्जाली, खोखोका जनक चन्द, टेबलटेनिसका श्यान्टु श्रेष्ठ पनि मनोनयनमा परेका थिए । गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले ऐरीलाई अवार्ड प्रदान गर्नुभयो ।

गत वर्ष दीपेन्द्रले एसिसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गर्दै इतिहास बनाउनुभएको थियो । उहाँ वर्ष २०८१ मा ३७० रन जोड्नुका साथै २० विकेट लिन सफल हुनुभयो । अमेरिकामा सम्पन्न टी २० विश्वकपमा ६ विकेट लिँदै उहाँ नेपालका लागि सर्वाधिक विकेट लिने बलर हुनुभयो । नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा सर्वोकृष्ट खेलाडी बन्दै कार जित्न सफल हुनुभएको थियो ।

गत वर्ष चार अन्तरराष्ट्रिय स्वर्णपदक विजेता एरिकाले लगातार दोस्रो पटक वर्षको सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड जित्न खोखोकी मानमती धामी, कराँतेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछाडि पार्नुभयो ।

एरिका २०८० को पनि वर्ष महिला खेलाडी घोषित हुनुभएको थियो । कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले एरिकालाई अवार्ड प्रदान गर्नुभयो ।

गत वर्ष एरिकाले भुटानमा सम्पन्न आठौँ दक्षिण एसियाली करातेमा दोहोरो स्वर्ण तथा अस्ट्रेलियन ओपन २०२४ र सिङ्गापुरमा सम्पन्न १६औँ एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्णपदक प्राप्त गर्नुभएको थियो ।

यसगरी, एरिकाले चीनमा भएको २०औँ सिनियर कराते च्याम्पियनसिप र दुबईमा भएको विश्व कराते वन युथ लिगमा रजत पदक हासिल गर्नुभएको थियो ।

भलिबलका हिमाल सुनारीले पिपुल्स च्वाइसको अवार्ड प्राप्त गर्नुभयो । ई–सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा हिमाल विजेता बन्नुभएको हो ।

हिमालले सर्वाधिक ४० दशमलव १० प्रतिशत मत प्राप्त गर्नुभयो । यस अवार्डको मनोनयनमा फुटबलर रेखा पौडेल, क्रिकेटकी पूजा महतो, टेबलटेनिसकी इभाना थापामगर र उसुका विजय सिञ्जाली पनि प्रतिस्पर्धामा थिए । खल्ती बाइ आएइमइका सिइओ प्रवीण रेग्मी र नासा सेक्युरिटिजका ग्रोथ चिफ अनिल श्रेष्ठले हिमाललाई पिपल्स च्वाइस अवार्ड प्रदान गर्नुभयो ।

पारा तेक्वान्दोका कविराज नेगी लामाले वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गर्नुभयो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा र नेपाल पर्यटन बोर्डका अफिसएटिङ निर्देशक सुनील शर्माले प्रशिक्षक नेगीलाई अवार्डले सम्मान गर्नुभयो ।

नेगीले दीपक महर्जन (बक्सिङ), लक्ष्मी नारायण वैद्य (खो खो), महेश रिजाल (क्रिकेट) र पछल्ल्लो वर्षका विजेता कुशल श्रेष्ठ (कराँते)लाई अवार्डको प्रतिस्पर्धामा उछिन्नुभएको थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्दा नेगी प्रशिक्षकको भूमिकामा हुनुहुन्थ्यो ।

युवा वर्ष खेलाडी अवार्ड महिला क्रिकेटर पूजा महतोले प्राप्त गर्नुभयो । नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेले पुजालाई अवार्ड प्रदान गर्नुभयो ।

पूजा उत्कृष्ट हुनुभएको यस विधामा अजय विक (एथ्लेटिक्स), अञ्जली महर्जन (कराँते), स्वस्तिका तिरुवा (बक्सिङ) र समीर तामाङ (फुटबल) पनि मनोनयनमा थिए ।

गत वर्ष पूजा नेपाली यु १९ महिला टोलीलाई इतिहासमा पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टालीकी कप्तान हुनुहुन्थ्यो । सो छनोटमा पूजाले २७२ बनाई सर्वाधिक रनकर्ता बन्नुका साथ १० विकेट लिन सफल हुनुभयो ।

उहाँले कुवेतविरुद्ध अविजित १३० रनको शतकीय पारि खेल्नुभएको थियो । सोही वर्ष पूजा एसिसी महिला यु–१९ एसिया कप २०२४ मा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इतिहास रच्ने कप्तान पनि बन्नुभएको थियो ।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट प्रभा आङ्दम्बे सम्मानित हुनुभयो । नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको एक वर्ष पनि पूरा नहुँदै प्रभाले नयाँदिल्लीमा भएको विश्व पारा एथलेटक्समा ऐतिहासिक रजतपदक जित्न सफल हुनुभएको थियो ।

टी ४७ क्याटेगोरीमा प्रभाले लङजम्पमा ३ दशमलव ९६ मिटर उचाई नाघेर ऐतिहासिक रजत पदक जित्नुभएको हो । जुन पारा एथ्लेटिक्समा नेपालले जितेको हालसम्मकै ठूलो पदक हो ।

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइभ टाइफ एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित हुनुभयो ।

पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका उहाँ नेपाली खेलकुदको पहिलो पुस्ताका खेलाडी र प्रशिक्षक हुनुहुन्छ । आफ्नो जीवनको आठौँ दशकतर्फ अग्रसर रानाभाट कीर्तिमान धावक जीतबहादुर केसीका समकालीन हुनुहुन्छ ।

खेलाडी जीवनपछि उहाँ प्रशिक्षणमा उत्तिकै ब्यस्त रहनुभयो । नामी विदेशी विश्वविद्यालयबाट प्रशिक्षणको अवसर प्राप्त गर्नुभएका उहाँ सिक्ने सिकाउने क्रममा ७७ जिल्ला पुग्नुभएको छ ।

राष्ट्रिय अन्तरराष्ट्रिय खेलाडीको सङ्गठन बनाउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उहाँले पोखरा म्याराथनलाई स्थापित मात्र गर्नुभएन, सफलतापूर्वक अगाडि बढाउनुभयो ।

सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा वैकुण्ठ मानन्धरको म्याराथनमा कीर्तिमान बनाउँदा रानाभाट नेपाली टिमका प्रशिक्षक हुनुहुन्थ्यो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र महासचिव अञ्जन खड्काले रानाभाटलाई अवार्ड प्रदान गर्नुभयो ।

स्पेसल अवार्डबाट तेक्वान्दोकर्मी तुलसीकुमार गुरुङ सम्मानित हुनभयो । पोखरेली गुरुङले गत वर्ष दक्षिण कोरियाको कुक्किवोनबाट नवौँ डान ब्ल्याक बेल्ट प्राप्त गर्नुभएको थियो । तेक्वान्दोमा यस्तो उपल्लो डानको मान पाउने उहाँ पहिलो नेपाली हुनुहुन्छ । गुरुङ झण्डै ३ दशकको तेक्वान्दो यात्रामा नेपाली खेलकुद विकासमा जोडिनुभएको छ ।

सन् २०१३ मा उहाँ हङ्कङ राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख बिजनेस अफिसर युवराजकुमार विस्टले रानाभाटलाई अवार्ड प्रदान गर्नुभयो ।

भारतका नयाँदिल्लीमा भएको पहिलो खोखो विश्वकपमा उपविजेता बनेर ऐतिहासिक रजत पदक दिलाउने खो खो पुरुष र महिला टिमलाई टिम अफ दि इयरको अवार्ड प्रदान गरियो । टिम गेम’ मा नेपाल विश्वकप खेलेर उपविजेता बनेको खो खो पहिलो खेल हो ।

यसैगरी, बङ्गलादेशका खेल पत्रकार राना हसनले एसियन स्पोर्टस् जर्नलिस्ट अवार्ड प्राप्त गर्नुभयो । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले हसनलाई अवार्ड प्रदान गर्नुभयो ।

वर्ष खेलाडी पुरुष/महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । अन्य विधाका विजेतालाई जनही रु एक लाख प्रदान गरियो ।

सम्बन्धित समाचार