रिजालको ग्रुपद्वारा डिलर भेटघाट कार्यक्रम सम्पन्न

स्वदेशी उद्योगमार्फत नेपाली अर्थतन्त्रमा निरन्तर योगदान दिँदै आएको रिजालको ग्रुप एण्ड कम्पनीले आफ्नो ३२ वर्षको सफल यात्रालाई स्मरण गर्दै डिलर भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल सोल्टीमा आयोजित कार्यक्रममा देशभरका डिलर, डिस्ट्रीब्युटर, व्यवसायिक साझेदार तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको सभापतित्व रिजालको ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक नबिन रिजालले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उनले कम्पनीको स्थापना यात्राबारे स्मरण गर्दै भने, करिब ३०–३२ वर्षअघि आत्मनिर्भर बन्ने दृढ इच्छासहित रोजगारीको खोजीमा काठमाडौं आए पनि आफ्नो सोच, क्षमता र आत्मसम्मानसँग मेल खाने अवसर नपाएपछि जन्मथलो विराटनगर फर्किनु नै आजको रिजालको ग्रुपको जग बनेको हो । विराटनगर फर्किएपछि “जागिर खोज्ने मात्र होइन, जागिर दिन सक्ने व्यक्ति बन्नुपर्छ” भन्ने सोचले आफूलाई प्रेरित गरेको र त्यही सोचबाट आजको रिजालको ग्रुप एण्ड कम्पनीको जन्म भएको उनले बताए ।

रिजालको ग्रुप नेपालमै अत्याधुनिक प्रविधिबाट फाइभ–लेयर पानी ट्यांकी उत्पादन गर्ने पहिलो कम्पनी बन्न सफल भएको छ । सुरुवाती चरणमा ग्राहकका गुनासो सुन्दै समाधान खोज्ने प्रयासले नै कम्पनीलाई नवप्रवर्तनतर्फ डो-याएको रिजालले उल्लेख गरे ।

पानी ट्यांकी उत्पादनबाट सुरु भएको कम्पनीले समयक्रमसँगै आफूलाई परिमार्जन गर्दै हाल पिभिसी, सिपिभिसी, एचडिपिइ पाइप तथा फिटिङ, गार्डेन पाइप, बोरिङ पाइपलगायतका उत्पादन गर्दै आएको र आगामी दिनमा स्टिल ट्यांकी उत्पादनसमेत सुरु गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै उनले कर्मचारी, डिस्ट्रीब्युटर, उपभोक्ता तथा सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै भने, “हाम्रो सफलताको श्रेय सबैसँग जोडिएको छ । कर्मचारीको मेहनत, विश्वास र सहयोग बिना यो उपलब्धि सम्भव हुने थिएन ।”

भविष्यमा कम्पनीलाई अझ व्यवस्थित, दिगो तथा नवीन प्रविधिमा आधारित बनाउने प्रतिबद्धता जनाउँदै उनले थपे, “हामी आगामी पुस्ता र नयाँ उद्यमीहरूलाई प्रेरित गर्ने दिशामा निरन्तर अगाडि बढ्नेछौं । देशको अर्थतन्त्र र व्यवसायिक वातावरण मजबुत बनाउन सबैको साझा प्रयास आवश्यक छ ।”

रिजालको ग्रुपको यो यात्रा केवल व्यावसायिक सफलता मात्र नभई देशप्रतिको समर्पण, युवाप्रतिको प्रेरणा र समाजप्रतिको योगदानको प्रतीक बनेको उनले बताए ।

कम्पनीको ब्राण्ड एम्बेस्डर अभिनेत्री स्वस्तिमा खड्का रहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

कार्यक्रमका क्रममा २०८१–८२ का उत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो । डिलरहरूले रिजालको ग्रुपलाई एउटा कम्पनी मात्र नभई परिवारको रूपमा व्याख्या गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार