जुम्लामा ७१ हजार ७३९ जना मतदाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा कुल जम्मा मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेका छन् ।

कुल मतदातामध्ये महिला मतदातातर्फ ३४ हजार २८० जना र पुरुष मतदातातर्फ ३७ हजार ४५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिनुभयो ।

एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा जिल्लाभरि ८५ मतदानस्थल र एक सय १० मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी कँडेलको भनाइ छ ।

जिल्लामा अतिसंवेदनशील मतदानस्थलबारे सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गर्ने काम गरिएको छ । सरकारी कार्यालयमा निर्वाचनका लागि परिचालन गरिने कर्मचारीको एकिन विवरण माग गरिएको निर्वाचन अधिकारी कँडेलले बताउनुभयो ।

जिल्लामा तीन हजार १०१ जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्र र नौवटा विभिन्न राजनीतिक दलका उम्मेदवारले निर्वाचनमा भाग लिने सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिनुभयो ।

उम्मेदवारी दर्ता गराउनेहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नरेश भण्डारी रहनुभएको छ ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही र नेकपा (माओवादी)बाट बिर्खबहादुर शाही चुनावी मैदानमा उत्रनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको मनोनयनसँगै जिल्लामा चुनावी चहलपहल ह्वात्तै बढेको छ ।

कुनै पनि उम्मेदवारहरूमाथि उजुरी नपरेपछि १० वटा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

सम्बन्धित समाचार