नवकान्तिपुर संवाददाता
ढाका, ११ माघ ।


बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा सार्वजनिक सम्बोधन गर्न अनुमति दिएकोमा आफू ‘आश्चर्यचकित’ र ‘स्तब्ध’ भएको बताएको छ ।
बङ्गलादेशमा गत वर्ष विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले उत्कर्ष रूप लिएपछि प्रधानमन्त्रीको कार्यालयमा आक्रमण गर्न अघि बढेपछि पूर्वप्रधानमन्त्री हसिनाले निकटस्थ केही सदस्यसहित सेनाको सहयोगमा हेलिकोप्टरमार्फत् भारतमा शरण लिन पुग्नुभएको थियो ।
सन् २०२४ अगष्टमामा आफ्नो १५ वर्षे शासन अन्त्य गरेपछि ७८ वर्षीया हसिना छिमेकी देश भारततर्फ भाग्नुभएको थियो । उहाँले शुक्रबार खचाखच भरिएको प्रेस क्लबमा अडियो सम्बोधन गर्दै पहिलो पटक सार्वजनिक मन्तव्य दिनुभएको छ ।
ढाकास्थित एक अदालतले उहाँलाई नोभेम्बरमा उहाँको अनुपस्थितिमा ज्यान मार्न आदेश जारी गरेको र अत्याचार रोक्न अकर्मण्यताको सजाय सुनाएको थियो ।
ढाकाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बङ्गलादेशले आम हत्याको लागि दोषी ठहर गरिसकेका पूर्वप्रधानमन्त्री हसिनालाई भारतीय राजधानीमा खुलेआम घृणा फैलाउने भाषण गर्न दिनु बङ्गलादेशका जनता र सरकारको स्पष्ट अपमान हो।”
“यसबाट बङ्गलादेशको सरकार र जनता आश्चर्यचकित र स्तब्ध भएका छन्,” विज्ञप्तिमा भनिएको छ । हसिनालाई भारतीय भूमिमा सम्बोधन गर्न दिनुले ‘खतरनाक नजिर’ स्थापित गर्ने र यसले ‘द्विपक्षीय सम्बन्धलाई गम्भीर रूपमा बिगार्न सक्ने’ विज्ञप्तिमा उल्लेख छ ।
राजनीतिक उथलपुथलपछि पहिलो पटक नयाँ सरकारको नेतृत्व छान्न बङ्गलादेशका मतदाताले फेब्रुअरी १२ मा मतदान गर्दैछन् । हसिनाले शुक्रबारको आफ्नो अडियो सम्बोधनमा अन्तरिम नेता मोहम्मद युनुसको नेतृत्वमा बङ्गलादेशले कहिल्यै पनि स्वतन्त्र र निष्पक्ष निर्वाचन अनुभव नगर्ने बताउनुभएको थियो ।
प्रत्यक्ष प्रसारण गरिएको सम्बोधनलाई प्रत्यक्षरूपमा नै एक लाखभन्दा बढी मानिसहरूले हेरेका थिए भने पछि यसलाई विभिन्न सामाजिक सञ्जालमार्फत् थप व्यापक बनाइएको थियो ।
बङ्गलादेशले हसिनालाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरेको छ, तर नयाँ दिल्लीले भने यस अनुरोधबारे कुनै टिप्पणी गरेको छैन । हसिनालाई भारतले विगतमा गरेको समर्थनले उहाँलाई सत्ताच्युत गरिएयता दुई दक्षिण एसियाली छिमेकीहरूबीचको सम्बन्ध चिसिएको छ ।
