नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।


आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जितका लािग १८५ रनको लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गरेको छ । उक्त खेल प्रधानमन्त्री सुशीला कार्कीले चाखपूर्वक हेरिरहनुभएको छ ।
उक्त खेल भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले उक्त खेल प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिजनका माध्यमबाट अवलोकन गरिरहनुभएको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको छ ।
इङ्ल्यान्डको लागि ज्याकब बेथलले ५५ र ह्यारी ब्रुक्सले ५० रनको अर्धशतकीय पारी खेले भने जस बटलरले २६ रन बनाए ।
यस्तै विल ज्यक्स ३९ रनमा अविजित रहे । नेपालको लागि नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लको भागमा समान एक-एक विकेट रह्यो । नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गर्न लागेको हो ।
नेपालले यसअघि सन् २०१४ बंगलादेशमा र सन् २०२४ मा अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाएको थियो । दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन ।
