विकासप्रेमी र जनताका समस्या बुझ्नेलाई मत दिने तयारीमा मतदाता

आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर जिल्लामा चुनावी वातावरण बन्दै गएको छ । उम्मेदवार र दलका नेता पार्टीको घोषणापत्र, प्रतिज्ञापत्र बोकेर मतदाताको घरघरमा पुग्न थालेका छन् भने मकवानपुरको सहरी तथा ग्रामीण क्षेत्रका चिया पसल, चौतारा, पान पसललगायत सार्वजनिक ठाउँहरूमा चुनावी चर्चाले तीव्रता पाएको छ ।

मकवानपुर क्षेत्र नं १ अन्तर्गत हेटौँडाका मतदाता भने आफूहरूको दुःखकष्ट बुझ्ने, विकासप्रेमी र जनहतमा काम गर्ने उम्मेदवारलाई मत दिने योजना बनाइएको बताएका छन् ।

निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय (डिना), नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर राणा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रकाश गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पूर्वसांसद दीपकबहादुर सिंह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती (रमेश) र श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठसहित २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

गत २०७९ सालको निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित हुनुभएका राप्रपाका दीपकबहादुर सिंह दोस्रो पटक चुनावी परिणाम आफ्नो पक्षमा पार्ने योजनामा हुनुहुन्छ । अघिल्लो निर्वाचनमा उहाँले २७ हजार ८५१ मत ल्याएर निर्वाचित हुनुभएको थियो ।

उम्मेदवारहरू जसरी पनि आफ्नो जीत सुनिश्चित गर्न विभिन्न योजना बनाउँदै मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो अभियानमा जुटेका छन् । राजनीतिमा लामो समय योगदान गरेकादेखि युवापुस्ताका उम्मेदवारहरू जनताको घरघरमा पुगेर मत माग्न पुग्दा मतदाताले भने स्वास्थ्य, शिक्षा क्षेत्रको विकास र रोजगारी सुनिश्चितता गर्ने उम्मेदवारलाई यसपटक मत दिने बताउँछन् ।

यहाँका मतदाताले सीमित स्वार्थका लागि उम्मेदवार बनेकाभन्दा पनि राजनीतिमा सक्रिय रहेर समाजका लागि योगदान गरेका र आफूहरूको दुःखसुखमा साथ दिने व्यक्ति आफूहरूको रोजाइमा पर्ने बताउँछन् ।

विभिन्न पार्टीका उम्मेदवार घरघरमा आएर आफ्नो पक्षमा भोट माग्दा कुन उम्मेदवारलाई भोट हालेर जिताउँदा राम्रो हुन्छ भनेर मतदाताले पनि गम्भीर भएर सोच्नुपर्ने हेटौँडा उपमहानगरपालिका–११ का सञ्जीव घलानले बताउनुभयो ।

“जो पायो त्यही नेतालाई मत दिएर जिताउनुभन्दा विकास प्रेमी र जनहितमा काम गर्नेलाई मत हालेर जिताउनुपर्छ”, उहाँले भन्नुभयो, “तब मात्र यहाँको विकास र सुशासन कायम हुन्छ ।” मत लिने बेला ठूलाठूला प्रतिबद्धता गर्ने र जितेर गएपछि ती सबै प्रतिबद्धताहरू बिर्सिनेबाट सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“चुनावपछि विकास गर्छ, शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार गरेर यहाँको मुहार फेरिने अपेक्षाका साथ हामीले जनप्रतिनिधि चुन्दै आएका छौँ”, हेटौँडामा चटपटे पसल गर्दै आउनुभएका खुस्बु राजवंशीले भन्नुभयो, “तर उहाँहरूले हाम्रो दुःखपीडा बुझ्न कहिले आउनुभएन्, त्यसैले यसपालि सचेत भएर हामी मतदान गर्छाैं ।” मतदाताको दुःखसुखमा साथ दिने र विकास गर्न सक्षम उम्मेदवारलाई जीताउने आफूहरूको योजना रहेको उहाँको भनाइ छ ।

“राजनीतिक आस्थामा मात्र नभएर आफूहरूको समस्या बुझ्ने र विकास गर्ने व्यक्ति हामीले छान्छौँ”, हेटौँडा–४ का कैलाश थापाले भन्नुभयो, “सीमित स्वार्थमा लागि उम्मेदवार बनेकाहरूले जनताको सपना पूरा गर्न सक्दैनन्, त्यसकारण राजनीति र समाजसेवामा योगदान गरेका नेतालाई मत दिनु आवश्यक छ ।”

गाउँमै दुःखकष्ट गरेका र गरिब किसानका मर्का बुझ्ने उम्मदवार नै आफूहरूको रोजाइमा पर्ने बताउँदै थापाले भन्नुभयो, “यहाँका अधिकांश युवा बेरोजगार छन्, रोजगारीको वातावरण सिर्जना गर्ने र जनताको दुःखकष्ट राम्ररी बुझ्ने उम्मेदवारलाई मात्र हामी यसपालि जिताउँछौँ ।”

मकवानपुर क्षेत्र नं १ मा ७९ हजार ६२१ पुरुष र ७८ हजार ८१० महिला मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार