थामी संस्कृतिदेखि त्रिदेशीय मार्गसम्म : पार्बत गुरुङको विकास एजेन्डा

टिकट प्रकाशनका सन्दर्भमा नेता पार्बत गुरुङले मुलुकले प्रयोग गर्ने हुलाक टिकटमा पहिलो पटक थामी संस्कृतिको चित्र अंकित गरी प्रकाशन गरिएको स्मरण गरे। उनका अनुसार यो कदम लोपोन्मुख थामी समुदायप्रति राज्यले दर्शाएको माया मात्र नभई सभ्यता र पहिचानप्रति गरिएको औपचारिक स्वीकारोक्ति पनि हो। “यो काम गर्न सकेकोमा म गर्व गर्छु,” उनले भने।

फलाक नाका: इतिहासदेखि सम्भावनासम्म

दोलखाको उत्तरी नाका फलाक ऐतिहासिक व्यापारिक मार्गका रूपमा चिनिन्छ। विगतमा यही नाकामार्फत नेपाल र तिब्बतबीच व्यापारिक आवतजावत हुने गर्थ्यो। नेपाली व्यापारीहरू वर्षभरिलाई पुग्ने नुन ल्याउँथे भने तिब्बतीहरू लत्ताकपडा तथा बन्दोबस्तीका अन्य सामग्री लैजान्थे।

दलाई लामाको निर्वासनपछि उक्त नाका बन्द भयो। त्यससँगै नियमित आवतजावत हुने बाटो सुनसान बन्दै अनकन्टारमा परिणत भयो।

हाल देशमा मुख्य रूपमा कोरालापास, तातोपानी र ओलाङचुङगोला नाका सञ्चालनमा छन्। गुरुङका अनुसार फलाक नाका सञ्चालनमा ल्याउन सके नेपालका लागि विकासको नयाँ अध्याय सुरु हुन सक्छ।

उनले भने, “यो नाका जोड्ने सडक अन्यको तुलनामा छोटो छ। जसबाट चीन २४८ किलोमिटर यात्रामै भारतीय बजारमा प्रवेश गर्न सक्छ र भारत चिनियाँ बजारमा।”

२० करोड बजेट सुनिश्चित, अब कार्यान्वयनको चुनौती

गुरुङले आव ०८०/८१ मा लामाबगर–फलाक सडकका लागि २० करोड रुपैयाँ बजेट सुनिश्चित गराएको जानकारी दिए। तर विभिन्न कारणले काम अघि बढ्न नसकेको उनको भनाइ छ।

आगामी कार्यकालमा यो अधुरो योजना पूरा गर्ने उनको प्रतिबद्धता छ। “दोलखामा गर्नुपर्ने साना–ठूला विकासका काम त छन् नै, तर लामाबगर–फलाक त्रिदेशीय मार्ग बन्न सके दोलखा मात्र होइन, मुलुककै अर्थतन्त्रमा ठूलो परिवर्तन आउन सक्छ। मेरो अबको पहल यसैमा केन्द्रित हुनेछ,” उनले बताए।

सामाजिक सेवामा पनि सक्रिय

स्थानीय बासिन्दाहरूका अनुसार पार्बत गुरुङ समाजसेवा तथा मानवीय उद्धारमा पनि सक्रिय छन्। उनले विभिन्न गर्भवती महिला तथा असहाय नागरिकहरूको उद्धार गरी ज्यान जोगाउन भूमिका खेलेको स्थानीयको भनाइ छ।

दोलखाका मतदाताहरूले विकास र सेवामुखी कार्यका आधारमा गुरुङप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्।

फलाक नाका पुनः सञ्चालन र त्रिदेशीय मार्ग निर्माणको मुद्दा यतिबेला दोलखाको मुख्य राजनीतिक एजेन्डाका रूपमा उभिएको छ। आगामी निर्वाचनमा यसले कस्तो परिणाम ल्याउने हो, त्यो भने समयले नै देखाउनेछ।



सम्बन्धित समाचार