नवकान्तिपुर संवाददाता
दोलखा, ११ फागुन ।


शिव प्रसाद भण्डारी पुनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (एमाले) मा फर्किएसँगै दोलखाको राजनीतिक समीकरण फेरिएको छ।
सोमबार आयोजित पुनर्मिलन कार्यक्रममा भण्डारीसहित उनकी श्रीमती कल्पना भण्डारी, भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्त बस्नेत लगायतका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्। कार्यक्रममा एमाले उम्मेदवार तथा पूर्व मन्त्री पार्वत गुरुङ , नेता आनन्द प्रसाद पोखरेल, केन्द्रीय सदस्य र जिल्ला नेतृत्वको उपस्थिति रहेको थियो।
पुनर्मिलनपछि बोल्दै भण्डारीले विभाजनभन्दा एकता आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउन पूर्ण रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
चार वर्षअघि एमाले विभाजनपछि माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सक्रिय रहेका भण्डारीको पुनरागमनले दोलखामा एमाले संगठन थप मजबुत बन्ने विश्लेषण गरिएको छ।
एमालेले ०४८ देखि गढ मानिँदै आएको दोलखामा यसपटक फराकिलो जितको वातावरण बन्दै गएको आन्तरिक निष्कर्ष निकालेको छ। हालै अन्य युवा तथा व्यवसायिक नेतृत्वसमेत एमालेमा फर्किँदै गएपछि चुनावी समीकरण एमाले पक्षमा बलियो बन्दै गएको बताइएको छ।

