प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल निर्वाचित हुनु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार एक सय ५९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा नेकपा(एमाले)का ईश्वर पोखरेलले चार हजार सात सय एक मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले एक हजार सात सय २९, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले एक हजार एक सय, श्रम संस्कृति पार्टीका अमित थापाले सात सय ११ मत प्राप्त गर्नुभएको छ । सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल २५ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

नवनिर्वाचित सांसद पोखरेलले मतदाताले देखाएको विश्वासले आफूहरु अत्यन्तै कृतज्ञ भएको उल्लेख गर्दै यो परिणाम कुनै व्यक्तिगत विजय नभई यस क्षेत्रका नागरिकप्रतिको ठूलो जिम्मेवारी भएको बताउनुभयो ।

“आजबाट हाम्रो कर्तव्य अझ ठूलो भएको छ । वास्तविक विजय आज होइन । आगामी पाँच वर्षमा जनताको विश्वास जोगाएर, इमानदारीका साथ काम गरेर, परिवर्तनको परिणाम देखाउन सकेपछि मात्र हाम्रो विजय पूर्ण हुनेछ ” उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार