नवकान्तिपुर संवाददाता
गुल्मी, २३ फागुन ।


गुल्मी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी हुनभएको छ । आज दिउँसो सम्पन्न अन्तिम मतपरिणामअनुसार १४ हजार ४६१ मतान्तरसहित ढकाल निर्वाचित हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) उम्मेदवार ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ र नेपाल कम्युनिस्ट पार्टीका शुदर्शन बरालले तीन हजार १६७ मत प्राप्त गर्नुभएको थियो । कुल एक लाख २२ हजार १८६ मतदाता रहेको उक्त क्षेत्रमा ६४ हजार ८२२ मत खसेकोमा ६२ हजार ८८० मत सदर भएको थियो ।
नवनिर्वाचित ढकाललाई मुख्य निर्वाचन अधिकृत पौडेलले विजय भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रमाणपत्र बुझेपछि समर्थक र कार्यकर्तालाई सम्बोधन गर्दै ढकालले रास्वपाको सरकार बनेपछि कार्की आयोगको प्रतिवेदनका दोषीलाई कारबाही गरिने बताउनुभयो ।
उहाँले देशमा भष्ट्राचार नियन्त्रण र सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । गुल्मीको सत्यवती गाउँपालिका–६ मा २०४८ साल वैशाख २८ गते जन्मिनुभएका ढकाल पेसाले इन्जिनियर हुनुहुन्छ ।
उहाँले विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासँग डडेल्धुराबाट प्रतिस्पर्धा गर्नुभएको थियो ।

