नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ फागुन ।


प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित हुनुभएको छ ।
यहाँको कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी हुनुभएको छ । २४ हजार ३३२ मतसहित उहाँ विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिना मगरले ११ हजार ११०, नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गर्नुभयो । त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङले आठ हजार ८८ मत प्राप्त गर्नुभएको छ । कञ्चनपुर १ मा कुल ६१ हजार ७४ मत खसेको थियो ।
त्यसैगरी कञ्चनपुर २ मा पनि रास्वपाका दीपकराज बोहरा भारी मतान्तरले विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका नारायणप्रकाश साउदलाई पराजित गर्नुभएको हो ।
बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै विजय हासिल गर्दा कांग्रेस उम्मेदवार साउदले १० हजार ८२७ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी एमालेका बचनबहादुर सिंह छ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टीका माधव पन्तले छ हजार ३३७ मत प्राप्त गर्नुभएको छ । यहाँ कुल ६५ हजार ३४७ मत खसेको थियो ।
त्यसैगरी यहाँको कञ्चनपुर ३ मा रास्वपा ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
यहाँ कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले नौ हजार ४४३, नेकपा एमालेका उम्मेदवार दीपकप्रकाश भट्टले सात हजार ५७५ मत प्राप्त गर्नुभएको छ । कञ्चनपुर ३ मा कुल ५८ हजार ३६१ मत खसेको थियो । जिल्लाका तीनवटा क्षेत्रमा निर्वाचित भएका धामी, बोहरा र महता पहिलोपटक सांसद निर्वाचनमा होमिनुभएको थियो ।
