नवकान्तिपुर संवाददाता
ढाका, २६ फागुन ।


मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धन अभाव र असन्तुष्टि देखिन थालेको छ । बङ्गलादेशमा अवस्था अझ तनावपूर्ण बनेपछि प्रमुख तेल डिपोहरूको सुरक्षा गर्न सैनिक तैनाथ गरिएको छ ।
तेल आयातमा अत्यधिक निर्भर बङ्गलादेशले आफ्नो ऊर्जा आवश्यकताको करिब ९५ प्रतिशत बाहिरबाट ल्याउँछ । इन्धन अभावको आशङ्कासँगै राजधानी ढाकासहित विभिन्न स्थानका पेट्रोल पम्पहरूमा लामो लाइन देखिएको छ । सुरक्षा व्यवस्थालाई कडा बनाउन सेनालाई मुख्य डिपोहरूमा राखिएको छ भने पेट्रोल पम्प वरपर प्रहरी गस्ती बढाइएको छ ।
ढाकाको एक पेट्रोल पम्पका कर्मचारी अशरफुज्जमान दुलालले आपूर्ति नपुग्दा आक्रोशित मोटरसाइकल चालकहरूले स्टेसनमा तोडफोड गरेको बताउनुभयो । उहाँका अनुसार डिपोबाट इन्धन नआएको जानकारी दिए पनि चालकहरू आश्वस्त नभएपछि आइतबार हिंसात्मक घटना भएको थियो ।
मङ्गलबार राजधानीको सबैभन्दा पुरानो स्टेसनमध्ये एक शाहजहाँ ट्रेडर्सले आफ्नो इन्धन सकिएको भन्दै ग्राहकसँग क्षमा माग्दै सूचना टाँसेको थियो । सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेश सरकारले स्थिति नियन्त्रणमा राख्न इन्धन राशनिङ सुरु गरेको छ । ऊर्जा अभावका कारण विद्यार्थीहरूलाई घर पठाइएको छ भने सार्वजनिक उत्सवमा हुने प्रकाश प्रदर्शनहरू पनि रद्द गरिएको छ ।
यसैबीच दक्षिणी जिल्ला झेनैदाहमा शनिबार राति इन्धन भर्ने विषयमा कर्मचारीसँग भएको झडपमा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । २५ वर्षीय युवाको मृत्युपछि आक्रोशित भीडले तीनवटा बसमा आगजनी गर्नुका साथै एउटा फिलिङ स्टेसनमा तोडफोड गरेको थियो ।
ढाकाको सिटी सेन्टरमा मङ्गलबार करिब १.५ किलोमिटर लामो सवारीको लाइन देखिएको थियो । गाडीमा लामो समयदेखि पर्खिरहेका कामरुल हसनले आफ्नो मालिकले कार लाइनमै छोडेर गन्तव्यमा पुग्न रिक्सा प्रयोग गरेको बताउनुभयो ।
पेट्रोल पम्पका कर्मचारी अख्तर हुसेनका अनुसार घण्टौँसम्म भीड नघट्ने अवस्था छ । “खाडी युद्धको समयमा पनि हामीले यति ठूलो भीड देखेका थिएनौँ”, उहाँले भन्नुभयो ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिका–इजरायल युद्ध ‘छिट्टै अन्त्य हुन सक्ने’ बताएपछि मङ्गलबार तेलको मूल्य केही घटेको छ । तर त्यसअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको थियो । यो मूल्य सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि देखिएको उच्च स्तर हो ।
इरानले मिसाइल र ड्रोन आक्रमणमार्फत खाडी क्षेत्रलाई लक्षित गरेपछि बजारमा अस्थिरता बढेको हो । युद्ध सुरु भएयता होर्मुज जलडमरूमध्यमा समुद्री यातायात पनि प्रभावित भएको छ । विश्वको करिब पाँचौँ भाग कच्चा तेल यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको असर विश्व बजारमा देखिएको छ ।
इन्धन सङ्कटको असर अन्य एसियाली देशहरूमा पनि देखिन थालेको छ । भियतनाममा मङ्गलबार हजारौँ मोटरसाइकल चालक पेट्रोलका लागि लाममा उभिएका थिए । त्यहाँ अनलिडेड पेट्रोलको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको छ ।
यद्यपि सरकारले आयातित पेट्रोलियम उत्पादनमा लगाइने शुल्क हटाएपछि भियतनाम ठूलो अभावबाट भने हालसम्म जोगिएको छ । हनोईका ५७ वर्षीय तुआन नामका एक व्यक्तिले पेट्रोलका लागि लामो समय पर्खनु परेपछि आफू निकै निराश भएको बताउनुभयो ।
उहाँका अनुसार करिब एक घण्टा लाइनमा बसेपछि पालो आउँदा पम्पको प्रणाली बन्द भएको जानकारी दिइएको थियो, जसका कारण धेरै चालकहरू निराश भएर फर्किएका थिए ।
फिलिपिन्समा पनि यस हप्ता पेट्रोल पम्पहरूमा गाडीहरूको लाम देखिएको छ। अधिकारीहरूले इन्धन भण्डारण नगर्न चेतावनी दिएका छन् भने पाकिस्तान र श्रीलङ्कामा पनि यस्तै दृश्यहरू देखिएका छन्।
मेट्रो मनिलाका ग्यास स्टेसन परिचारक एनरिको गुडाका अनुसार मूल्य अझ बढ्ने आशङ्कामा मानिसहरू हतारिएर इन्धन भर्न थालेपछि दैनिक कामको भार दोब्बर भएको छ ।
म्यान्मामा अवस्था अझ कठिन देखिएको छ । आफ्नो इन्धनको करिब ९० प्रतिशत आयात गर्ने यस देशमा पहिले नै गृहयुद्धका कारण ऊर्जा आपूर्ति कमजोर थियो । तेलको भण्डार जोगाउन सरकारले प्रत्येक दिन आधा निजी सवारीसाधन सडकमा नचलाउने व्यवस्था लागू गरेको छ ।
कार भाडामा दिने व्यवसायी ५६ वर्षीया ह्ला हतेले यस्तो नियमले गाडीमा निर्भर चालकहरूलाई व्यवसाय सञ्चालन गर्न कठिन बनाएको बताउनुभयो । म्यान्माको सीमावर्ती सहर टाचिलिकमा थाइल्यान्डबाट हुने आपूर्ति घटेपछि केही पेट्रोल पम्पहरू बन्द भएका छन् । त्यहाँ गत हप्ता इन्धनको मूल्य तीन गुणासम्म बढेको थियो ।
यद्यपि जापान, इन्डोनेसिया, चीन, भारत र अफगानिस्तानजस्ता केही देशहरूमा भने हालसम्म व्यापक सङ्कट देखिएको छैन । सियोलका ४२ वर्षीय व्यापारी ली इन–टेले भने सावधानीस्वरूप आफूले पहिलेभन्दा बढी पटक इन्धन भर्न थालेको बताउनुभयो । “पहिले हप्तामा एक पटक गाडीमा इन्धन हाल्थेँ, तर अब सस्तो पम्प देख्नेबित्तिकै भर्ने प्रयास गर्छु”, उहाँले भन्नुभयो ।
