ओली र लेखकलाई पक्राउ गरिएको विरोधमा एमालेद्वारा ध्यानाकर्षण

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपा (एमाले) का सांसदले सदन मार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा सुरु भएको बैठकमा सो पार्टीका सांसदले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएको विरोधमा ध्यानाकर्षण गराउनुभएको हो ।

बैठकको प्रारम्भमा नै एमालेका सांसद गुरुप्रसाद बरालले उक्त पक्राउका विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न समेत माग गर्नुभयो ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ,’ उहाँले भन्नुभयो, ‘यो गम्भीर आपत्तिको विषय छ । यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । आज सरकारले निर्मम दमन गरिरहेको छ ।’

यही चैत १४ गते नेपल सरकारको निर्णयबमोजिम अध्यक्ष ओली र नेता लेखकलाई पक्राउ गरिएको थियो ।

बैठकमा सुरुआतमै एमालेका सांसदहरु आ-आफ्ना आसनबाट उठेपछि बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पहिलो बैठकमा विवाद नगरी बसिदिन सो पार्टीका सांसदलाई आग्रह गर्नुभएको थियो ।

सम्बन्धित समाचार