ओमानसँग नेपाल ‘ए’ टोली ७० रनले पराजित

ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ टोली पराजित भएको छ । काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको हो ।

ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २१० रनमा समेटियो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलको सामना गर्दै ३ चौकाको सहयोगमा ५२ रनको योगदान गरेका हुन् ।

त्यसैगरी कप्तान अनिलकुमार साहले ६४ बलमा ६ चौकाको सहयोगमा ५० रन बनाए । त्यस्तै तृतराज दासले ४८ बलमा ३१ रन बनाए । देव खनालले ४३ रन बनाउँदा सन्दीप जोरा २२ रनमा आउट भए ।

बलिङतर्फ ओमानका शकिल अहमदले ३ विकेट लिए भने नदिम खान र मुजिबर अलिले समान २/२ विकेट लिए । त्यस्तै होनैन अलिले १ विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रनको योगफल बनाएको थियो ।

ओमानका लागि मुजिबुर अलिले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेले । उनले ८५ बलको सामना गर्दै ४ चौका र ३ छक्काको मद्दतमा ७२ रन बनाएका हुन् । कप्तान जितेन्दर सिंह ४८ बलमा ५८ रन बनाए । हषिर डपादारले ४६, आशिष ओडाराले २७ तथा विनायक शुक्ला २५ रन बनाए । जितेन रामानन्दी १७ रनमा अविजित रहे ।

यता नेपाल ‘ए’ का लागि आकाश चन्दले ४ विकेट लिँदा सन्तोष यादवले २ तथा शाहव आलम, शेर मल्ल र रशिद खानले समान १/१ विकेट लिए । नेपाल ‘ए’ र ओमानबीच अर्को खेल यही वैशाख ११ गते हुनेछ ।

यही वैशाख १२ गतेदेखि सुरुआत हुने आइसिसी विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न ओमान नेपाल आएको हो । उक्त प्रतियोगिताको तयारी स्वरुप ओमानले नेपाल’ ए’ टोलीसँग खेलेको हो । विश्वकप लिग दुईको त्रिकोणात्मक सिरिजमा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई) र ओमान सहभागी छन् ।

सम्बन्धित समाचार