नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ वैशाख ।

ओमानसँगको दुई खेलको एक दिवसीय शृङ्खलामा शुक्रबार नेपाल ‘ए’ विजयी भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ ले ओमानलाई ११५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
यसँगै दुई खेलको उक्त शृङ्खला १-१ को बराबरीमा सकिएको छ । बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । शुक्रबार नेपाल एले ओमानलाई २८५ रनको चुनौती दिएको थियो । जवाफमा ओमान ३६ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १६९ रनमा समेटियो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै जितेन रामानन्दीले २४ र विनायक शुक्लाले २१ रन जोडे ।
ओमानलाई १६९ रनमा समेट्ने क्रममा नेपाल ‘ए’का लागि युवराज खत्रीले तीन विकेट लिए भने हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान दुई विकेट झारे । त्यस्तै सन्तोष यादवले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८४ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ६९ रनको योगदान दिए । त्यसैगरी देव खनाल ६४, कुशल मल्ला ५७, सन्दीप जोरा ४२, सन्तोष यादव १५ तथा अर्जुन कुमाल १३ रनमा आउट भए ।
शनिबारदेखि सुरु हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ खेल्न ओमान नेपाल आएको हो । सोही प्रतियोगिताको तयारी स्वरुप ओमानले नेपाल ‘ए’सँग अभ्यास खेल खेलेको हो । विश्वकप लिग-२ मा शनिबार नेपाल र संयुक्त अरब इमिरेट्स आमनेसामने हुनेछन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने उक्त खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।


