
उत्तर अमेरिकी क्षेत्रमा हुने विश्वकप फुटबलको सरगर्मी बढ्दो छ । विश्व फुटबलको महाकुम्भ मेला आउन अब करिब एक महिना मात्र बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप आगामी जेठ २८ गतेदेखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ । तेइसौँ संस्करणको विश्वकप फुटबलका खेलहरू अमेरिकाका ११ सहर, मेक्सिकोका तीन सहर र क्यानडाका दुई सहरमा हुनेछन् ।
सन् २००२ पछि पहिलोपटक दुईभन्दा बढी देशको संयुक्त आयोजनामा विश्वकप फुटबल हुन लागेको हो । सन् २०२६ को विश्वकपमा रहेका तीन आयोजक राष्ट्रमध्ये मेक्सिको विश्वकप तीन पटक आयोजना गर्ने पहिलो मुलुक बनेको छ ।
सन् १९८६ र २०२२ मा सहभागी भइसकेको क्यानडाले पहिलोपटक विश्वकपको सहआयोजना गर्न लागेको हो भने अमेरिकाले यसअघि सन् १९९४ मा विश्वकप आयोजना गरिसकेको छ । विश्वकपको उद्घाटन खेल मेक्सिको सिटीस्थित एस्टाडियो एज्टेका (एस्टाडियो बानोर्टे) रङ्गशालामा हुनेछ भने फाइनल खेल अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ रङ्गशालामा हुनेछ ।
३२ बाट बढाएर ४८ देश
फिफाले पहिलोपटक २३औँ विश्वकपलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने उद्देश्यसहित सहभागी राष्ट्रको सङ्ख्या बढाएर ४८ पु-याएको छ । अघिल्ला संस्करणसम्म ३२ राष्ट्रले सहभागिता जनाउँदै आएकामा यसपटकदेखि सहभागी सङ्ख्या ४८ पु-याइएको हो ।
सन् १९९८ को फ्रान्स विश्वकपदेखि सन् २०२२ को कतार विश्वकपसम्म ३२ देशले प्रतिस्पर्धा गरे भने यसअघि सन् १९८२ स्पेन विश्वकपदेखि सन् १९९४ अमेरिका विश्वकपसम्म २४ देशबीच प्रतिस्पर्धा हुने गर्दथ्यो । त्यसअघि सन् १९३० मा उरुग्वेको मन्टेभिडियोमा भएको पहिलो विश्वकपदेखि सन् १९७८ मा अर्जेन्टिनामा भएको ११औँ विश्वकपसम्म १६–१६ देशले प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएको थियो ।
पहिलो विश्वकपमै एसियाबाट जापान र थाइल्यान्डले नाम फिर्ता लिएका थिए । अफ्रिकाबाट प्रतिनिधित्व गर्ने इजिप्ट पनि पानीजहाज छुटेका कारण प्रतियोगितामा सहभागी हुन सकेन । यसका कारण पहिलो विश्वकपमा १६ देशमध्ये १३ देश मात्र सहभागी भए । सन् १९३८ को दोस्रो विश्वकपमा अस्ट्रेलियाले हात झिकेपछि १५ देश सहभागी भए । सन् १९५० मा ब्राजिलमा भएको विश्वकपमा भारत छनोट भएर पनि सहभागी भएन । स्कटल्यान्ड र फ्रान्सले पनि प्रतियोगितामा भाग लिएनन् ।
सो विश्वकपमा पनि १६ मध्ये १३ देशबीच प्रतिस्पर्धा भयो । त्यसपछि सन् १९५४ मा स्वीट्जरल्यान्डमा भएको पाँचौँ विश्वकपदेखि सन् १९७८ सम्म भने १६ देशले नै फाइनल चरणमा प्रतिस्पर्धा गरे ।
ताजा विश्वकपमा को सहभागी, को बाहिर ?
विश्वकपको फाइनल चरणमा अफ्रिकी राष्ट्र केप भेर्डे, क्यारेबियन राष्ट्र कुराकाओ तथा एसियाली देश जोर्डन र उज्वेकिस्तानले पहिलोपटक स्थान बनाएका छन् । तर बलियो तथा चारपटकको विश्वविजेता इटाली लगातार तेस्रोपटक विश्वकपमा पुग्न असफल भयो । युरोपियन छनोटको प्लेअफ फाइनलमा बोस्निया–हर्जगोभिनासँग पराजित हुँदै इटाली विश्वकपबाट बाहिरिएको हो । इटाली मात्र नभई विश्वकपमा बलियो उपस्थिति जनाउँदै आएका पोल्यान्ड, डेनमार्क, चिली, क्यामरुन र नाइजेरियाजस्ता शक्तिशाली राष्ट्र पनि यसपटक सहभागी हुने छैनन् । राजनीतिक तथा आर्थिक समस्यासँग जुधिरहेका कङ्गो र हाइटी ५२ वर्षपछि विश्वकप खेल्दै छन् । इराक ४० वर्षपछि विश्वकपमा फर्किएको छ भने बोस्निया–हर्जगोभिना र इरानले पनि विश्वकपमा आफ्नो उपस्थिति जनाउँदैछन् । अस्ट्रिया, नर्वे र स्कटल्यान्डले सन् १९९८ पछि पहिलोपटक विश्वकपको फाइनल चरणमा प्रतिस्पर्धा गर्दैछन् ।
४८ देश, १२ समूह
यसपटक कुल ४८ राष्ट्रले विश्वकपमा सहभागिता जनाउँदैछन् । टोलीहरूलाई १२ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार–चार टोली रहेका छन् । समूह ‘ए’ मा आयोजक मेक्सिकोसँगै दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिक रहेका छन् । समूह ‘बी’ मा आयोजक क्यानडा, बोस्निया–हर्जगोभिना, कतार र स्वीट्जरल्यान्ड छन् । समूह ‘सी’ मा ब्राजिल, मोरक्को, हाइटी र स्कटल्यान्ड छन् भने समूह ‘डी’ मा आयोजक अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन् ।
समूह ‘ई’ मा जर्मनी, कुराकाओ, आइभरी कोस्ट र इक्वेडर रहेका छन् । समूह ‘एफ’ मा नेदरल्यान्ड्स, जापान, स्वीडेन र ट्युनिसिया छन् भने समूह ‘जी’ मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड रहेका छन् । समूह ‘एच’ मा स्पेन, उरुग्वे, साउदी अरेबिया र केप भेर्डे छन् । समूह ‘आई’ मा साविक उपविजेता फ्रान्स, सेनेगल, इराक र नर्वे छन् । समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन रहेका छन् । समूह ‘के’ मा पोर्चुगल, कंगो, उज्वेकिस्तान र कोलम्बिया छन् भने समूह ‘एल’ मा इङ्गल्यान्ड, क्रोएसिया, घाना र पानामा रहेका छन् ।
३९ दिन, १०४ खेल
फिफाले यसपटक विश्वकपमा सहभागी राष्ट्रको सङ्ख्या ३२ बाट बढाएर ४८ पु¥याएको छ । देशको सङ्ख्या बढेसँगै खेलको सङ्ख्या पनि बढेको छ । ३९ दिनसम्म चल्ने प्रतियोगितामा कुल १०४ खेल हुनेछन् । समूह चरणका खेलहरू जेठ २८ गतेदेखि असार १३ गतेसम्म सञ्चालन हुनेछन् । प्रत्येक समूहका शीर्ष दुई टोली र उत्कृष्ट आठ तेस्रो स्थान प्राप्त टोली गरी ३२ टोली राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन् ।
राउन्ड अफ ३२ का खेल असार १४ गतेदेखि असार १९ गतेसम्म हुनेछ । त्यसपछि प्रि–क्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेलाइनेछ । राउन्ड अफ १६ का खेल असार २० गतेदेखि असार २३ गतेसम्म हुनेछ भने क्वार्टरफाइनल असार २५ देखि २७ गतेसम्म हुनेछ । सेमिफाइनल असार ३० र ३१ गते हुनेछ । तेस्रो स्थानका लागि साउन २ गते प्रतिस्पर्धा हुनेछ भने फाइनल खेल साउन ३ गते हुनेछ । साविक विजेता अर्जेन्टिना हो ।
खेल कुनकुन सहरमा हुँदैछ ?
तेइसौँ संस्करणको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोका १६ सहरमा आयोजना हुनेछ । अमेरिकाका ११, मेक्सिकोका तीन र क्यानडाका दुई सहरमा प्रतियोगिता सञ्चालन हुनेछ । विश्वकपको फाइनल अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ रङ्गशालामा हुनेछ । ८३ हजार दर्शक क्षमता रहेको यो रङ्गशालालाई न्यू जर्सी रङ्गशाला पनि भनिन्छ ।
अमेरिकाको डलास रङ्गशालामा विश्वकपका नौ खेल हुनेछन् । ९४ हजार दर्शक क्षमता भएको रङ्गशालामा समूह चरणका पाँच, राउन्ड अफ ३२ का दुई, प्रि–क्वार्टरफाइनलको एक र सेमिफाइनलको एक खेल हुनेछ । एटलान्टास्थित मर्सिडिज बेन्ज रङ्गशालामा पनि विभिन्न चरणका खेल हुनेछन् । कान्सास सिटीस्थित गेहा फिल्ड एट एरोहेड रंगशालामा समूह चरण, नकआउट र क्वार्टरफाइनलका खेल हुनेछन् ।
ह्युस्टनको एनआरजी रङ्गशाला, सान फ्रान्सिस्को बे एरियाको लेभाइज रङ्गशाला, लस एन्जल्सको सोफाइ रङ्गशाला, फिलाडेल्फियाको लिङ्कन फाइनान्सियल फिल्ड, सिएटलको लुमेन फिल्ड, मियामीको हार्ड रक रङ्गशाला तथा बोस्टनको जिलेट रङ्गशालामा पनि विभिन्न खेल हुनेछन् । मेक्सिको सिटीस्थित एस्टाडियो एज्टेका रङ्गशालामा उद्घाटन खेल हुनेछ । पहिलो खेल आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ । क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्ड र भ्यानकुभरस्थित बिसी प्लेस रङ्गशालामा पनि विश्वकपका खेलहरू सञ्चालन हुनेछन् ।
टिकट मूल्य
फिफाले यसपटकको विश्वकपको टिकट मूल्य अत्यधिक महँगो हुने जनाएको छ । समूह चरणको टिकट मूल्य ३०० डलर तोकिएको छ भने फाइनल खेलको सामान्य टिकट मूल्य १० हजार ९९० डलर तोकिएको छ । यसअघि कतार विश्वकपको फाइनल टिकट मूल्य करिब १२०० डलर मात्र थियो ।
पहिलोपटक विश्वकप खेल्दै चार राष्ट्र
यसपटक विश्वकपमा केप भेर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानले पहिलोपटक सहभागिता जनाउँदैछन् । केप भेर्डेले अफ्रिकी छनोटमा क्यामरुनलाई हराउँदै विश्वकपमा स्थान बनाएको हो । कुराकाओले जमैका, बर्मुडा र हाइटीजस्ता टोलीलाई पछि पार्दै विश्वकप यात्रा तय ग-यो । जोर्डनले ओमानलाई ३–० ले हराउँदै पहिलोपटक विश्वकपमा छनोट भएको इतिहास रच्यो । उज्वेकिस्तानले पनि लामो प्रयासपछि पहिलोपटक विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
चारपटकको विजेता इटालीबिनाको विश्वकप
यसपटकको विश्वकपमा चारपटकको विश्वविजेता इटाली रहने छैन । युरोपियन छनोट चरण पार गर्न नसकेपछि इन्टर मिलानका एलेसान्द्रो बास्तोनी, निकोलो बरेला तथा पिएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माजस्ता खेलाडी विश्वकप खेल्नबाट वञ्चित भएका छन् । विश्वकप इतिहासमा ब्राजिलपछि सबैभन्दा सफल टोली मानिने इटालीले १८ संस्करणमा सहभागिता जनाएको छ । सन् २००६ मा चौथोपटक विश्वकप जितेपछि इटाली सन् २०१० र २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । त्यसपछि लगातार तीन संस्करणमा विश्वकपमा छनोट हुन नसक्नु इटाली फुटबलका लागि ठूलो धक्का मानिएको छ ।
कुन क्षेत्रीय छनोटबाट सहभागी कति ?
विश्वकपको २३औँ संस्करणमा सबैभन्दा बढी युरोपियन क्षेत्र (युइएफए) बाट १६, अफ्रिकी क्षेत्र ( सिएएफ) बाट १०, एशिया क्षेत्र (एएफसी) बाट नौ, उत्तरमध्ये र क्यारेवियन क्षेत्र (कन्काफ)बाट छ दक्षिण अमेरिकी क्षेत्र (कन्मेबोल)बाट छ र ओसेनिया क्षेत्र (ओएफसी) बाट एक गरी ४८ राष्ट्रले सहभागिता जनाउँदैछन् । एसियाबाट अष्ट्रेलिया, इरान, इराक, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्वेकिस्तानले विश्वकपमा सहभागिता जनाउँदैछन् ।
युरोपबाट अष्ट्रिया, बेल्जियम, बोस्नीया हर्जगोविना, क्रोयसिया, चेक रिपब्लिक, इङ्गल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन, स्वीडेन, स्वीजरल्याण्ड र टर्कीले भाग लिँदैछन् । अफ्रिकाबाट अल्जेरिया, केप भेर्डे, डिआर कङ्गो, इजिप्ट, घाना, आइभरी कोष्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनेसिया गरी १० देशले विश्वकपमा सहभागिता जनाउँदैछन् । दक्षिण अमेरिकी क्षेत्रबाट साविक विजेता अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे र उरुग्वे गरी छ देशले विश्वकपमा खेल्दैछन् । उत्तरी, मध्यअमेरिका तथा क्यारेवियन (कन्काफ) क्षेत्रबाट क्यानडा, मेक्सिको, अमेरिका, पानामा, कुराकाओ र हाइटीले प्रतिस्पर्धा गर्दैछन् । जसमा क्यानडा, मेक्सिको र अमेरिका आयोजक हुन् भने पानामा, कुराकाओ र हाइटीले छनोटको तेस्रो राउण्डको समूह विजेताका रुपमा विश्वकपमा छनोट भएका हुन् । यस्तै ओसेनिया क्षेत्रबाट न्युजिल्याण्डले विश्वकपमा सहभागिता जनाउँदैछ ।
एशियाली क्षेत्रको छनोट
एशियाली छनौटको तेस्रो चरणमा रहेका तीन वटा समूहका विजेता र उपविजेता गरी छ देश इरान, उज्वेकिस्तान, दक्षिण कोरिया, जोर्डन, जापान र अष्ट्रेलिया सोझै विश्वकपमा छनोट भएका हुन् । बाँकी दुई देश कतार र साउदी अरेबिया तीन समूहका उत्कृष्ट तेस्रो र चौथो हुने देशबीच दुई समूह विभाजन गर्दै भएको प्रतिस्पर्धाबाट समूह विजेता विश्वकपमा छनोट भएका हुन् । यसैगरी सो दुई समूहका दोस्रो हुने टोलीबीच प्रतिस्पर्धा गर्दै इराकलाई अन्र्तरमहादेशीय छनोट खेल्ने अवसर मिल्यो । युएईलाई हराउँदै अन्तर महादेशीय प्लेअफ खेलेको इराकले कन्काफ र दक्षिण अमेरिकी क्षेत्रबाट प्लेअफमा आएका बोलेभिया र सुरीनामलाई पन्छाउँदै विश्वकपमा स्थान पक्का गरेको थियो ।
विश्वकप फुटबलको प्रारम्भिक छनोटमा लाओस्लाई समग्रमा २–१ ले हराउँदै नेपालले अर्को चरणमा प्रवेश पाएको थियो । सो चरणमा युएई, बहराइन र यमनसँग २–२ पटक प्रतिस्पर्धा गरेको नेपालले यमनसँग एउटा खेलमा २–२ को बराबरी गर्नबाहेक अन्य सबै खेलमा नेपाल पराजित भएको थियो ।
एशियाबाट छनोट भएका देशहरु यसअघि कुनकुन विश्वकपमा सहभागी थिए ?
एशियाली क्षेत्रबाट विश्वकपमा छनोट भएर प्रतिस्पर्धा गर्ने सबैभन्दा पहिलो देश इण्डोनेसिया रहेको छ । सन् १९३८ मा फ्रान्समा भएको विश्वकपका दौरान तत्कालीन डच इष्ट इन्डिजको नामले परिचित इण्डोनेसियाली फुटबल टिमले प्रतिस्पर्धा गरेको थियो । पहिलो राउण्डको खेलमै हङ्गेरीसँग इण्डोनेसिया पराजित हुन पुग्यो । सन् १९५० को विश्वकपमा भारत छनोट भएर पनि पूर्वाधार र आर्थिक कारण देखाउँदै प्रतिस्पर्धा गर्न असफल रह्यो । यसपछि दक्षिण कोरियाले सन् १९५४ मा विश्वकप खेलेको थियो । सो विश्वकपमा दक्षिण कोरिया हङ्गेरीसँग ९–० ले तथा टर्कीसँग ७–० ले पराजित भएको थियो ।
सन् १९७४ मा अष्ट्रेलिया र लगत्तै चार वर्षपछि इरान सहभागी भयो । सन् १९८६ र १९९० मा दक्षिण कोरियाले प्रतिस्पर्धा ग-यो । १९९४ को अमेरिका विश्वकपमा साउदी अरब पहिलोपल्ट सहभागी हुँदा दक्षिण कोरियाले निरन्तरता पायो । सन् १९९८ देखि प्रत्येक विश्वकपमा कम्तिमा चार टिम पुग्नेनियम बनाइसक्यो । दक्षिण कोरियालले १३औँ पटक विश्वकपमा सहभागिता जनाउँदै गर्दा जापान र साउदी अरेबियाले सातौँ पटक प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलिया र इरानले ६–६ पटक विश्वकपमा भिड्दा कतार र इराकले अहिलेसम्म १–१ विश्वकपमा भिडन्त गरेका छन् । जोर्डन र उज्वेकिस्तान पहिलोपल्ट विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् ।
कसले कतिपल्ट विश्वकपको ताज पहिरिए ?
विश्वकप फुटबलको झण्डै एकसय वर्ष पुरानो इतिहास भइसक्दा २२औँ संस्करणसम्म विश्वकप सम्पन्न भइसक्यो । यसमा सबैभन्दा बढी ब्राजिलले पाँच पटक विश्वकप जितेको छ ।
दुई पटक उपविजेता बनेको ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप जितेको छ । ब्राजिलपछि सबैभन्दा बढी चार–चार पटक जर्मनी र इटालीले विश्वकपको ट्रफी उचालेका छन् । जर्मनीले सन् १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप जित्दा चारपटक नै उपविजेता बनेको छ । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप जित्दा दुई पटक उपविजेता बनेको छ ।
यसैगरी, अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ मा गरी तीनपटक विश्वकप जित्दा तीनपटक नै उपविजेता बनिसकेको छ । विश्वकप फुटबलको इतिहासमा फ्रान्स र उरुग्वेले दुई–दुई पटक विश्वकप जितेका छन् । उरुग्वेले पहिलो विश्वकप सन् १९३० र १९५० मा विश्वकप जित्दा फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप जित्दा दुई पटक नै फाइनलमा पराजित भयो ।
यसैगरी स्पेन र इङ्गल्याण्डले एक–एक पटक विश्वकप जितेका छन् । नेदरल्याण्ड्स तीन पटक उपविजेता बन्दै गर्दा हङ्गेरी र चेकोस्लाभियाले दुई–दुई पटक उपविजेता बनेका छन् । स्वीडेन र क्रोयसिया एक–एकपटक विश्वकपको उपविजेता बनिसकेका छन् ।

