नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ जेठ ।

सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताउनुभएको छ । पूर्वसांसद मञ्च नेपालले शुक्रबार ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा उहाँले पुराना कानुनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताउनुभयो ।
सभामुख अर्यालले विधेयकको मस्यौदा निर्माणमा भइरहेको अभ्यासले व्यावहारिकतालाई सम्बोधन गर्न नसकिरहेको दृष्टान्त सुनाउनुभयो । “विधेयकको निर्माण कसले गर्दिन्छ, कसलाई सोधेर र कोसँग छलफल गरेर गरिन्छ ?”, उहाँले भन्नुभयो ।
कानुनको प्रयोगकर्तालाई थाहा नदिई निर्माण भएका कतिपय विधेयकले हाम्रो भूगोल र चेतनाको स्तरलाई समेट्न नसकेको पाइएको उहाँको भनाइ छ ।
“कानुनको प्रयोगकर्तालाई कस्तो कानुन बन्छ भन्ने थाहा हुँदैन । हामी कानुन बनाइदिन्छौँ, ‘तिमी प्रयोग गर’ भनेर लाद्ने कोसिस गर्छौँ”, सभामुख अर्यालले भन्नुभयो, “यसबाट जनताले आफूले प्रयोग गर्ने काननु थाहा पाउँदैनन् र जबर्जस्ती सो कानुन पालना गर्न बाध्य हुन्छन् ।”
सभामुख अर्यालले मुलुकमा गणतन्त्रको बिहानी ल्याउन पूर्वसांसदहरुले खेलेको भूमिका असाधारण रहेको बताउनुभयो । उहाँले अग्रजहरूको अनुभव र तत्कालीन राजनीतिक परिस्थितिमा गरेको सङ्घर्ष तथा पछिल्लो पुस्ताको क्रियाशीलताबाट मुलुक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
मञ्चका उपाध्यक्ष सुशीला शर्माले पूर्वसांसदको अनुभव र वर्तमान सांसदको क्रियाशीलताले संसदीय अभ्यासले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । मञ्चका कार्यवाहक अध्यक्ष विष्णुबहादुर राउतले ‘संसदीय समितिमा विधायकी अभ्यास’, ‘संसदीय समितिमा गैरविधायकी अभ्यास’ र ‘अन्तरराष्ट्रिय महासन्धि र अदालतका आदेश कार्यान्वयनमा समितिको भूमिका’ विषयमा विज्ञबाट प्रस्तुति गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापति, पूर्वसांसद, संविधानसभा सदस्य, बहालवाला सांसद, सङ्घीय संसद् सचिवालयका महासचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलगायत उपस्थिति हुनुहुन्थ्यो ।
