नवकान्तिपुर संवाददाता
काभ्रेपलाञ्चोक, ५ असार।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आठ हजार ६० नयाँ नागरिकता जारी गरेको छ । सोही अवधिमा २७ हजारभन्दा बढी जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आवेदन गरेको जनाइएको छ ।
कार्यालयद्वारा सार्वजनिक चालु आवको ११ महिनाको कार्यप्रगति विवरण अनुसार हालसम्म २० जनाले आमाको नामबाट नागरिकता लिएका छन् भने नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि बनाउनेको सङ्ख्या यस वर्ष पनि अधिक रहेको पाइएको छ ।
कार्यालयका तथ्याङ्कअनुसार गत साल साउनमा ८४४, भदौमा ५३८, असोजमा ४६२, कात्तिकमा ६८६, मङ्सिरमा ९२९, पुसमा ४२८, माघमा ८६४, फागुनमा ४०१, चैतमा ५१८, वैशाखमा ८३२ र जेठमा एक हजार ५५८ नागरिकता जारी भएको छ । यही अवधिमा नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या भने १० हजार ६९ रहेको छ ।
त्यसैगरी, गत साउनदेखि जेठसम्मको अवधिमा ३६ वटा गैरआवासीय नागरिकता जारी भएको छ भने नागरिकता परित्याग गर्नेको सङ्ख्या ४७ रहेको छ । यही अवधिमा आठ नागरिकता रद्द र आठ अङ्गिकृत नागरिकता जारी गरिएको कार्यालयको कार्यप्रगति विवरणमा उल्लेख छ ।
त्यस्तै, गत जेठसम्ममा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिनेको सङ्ख्या २७ हजार ३२५ रहेको छ । गत साउनमा मात्र यो सङ्ख्या तीन हजार ४५३ रहेको थियो भने भदौमा दुई हजार ८९७, असोजमा एक हजार ९६२ नागरिकले आवेदन दिएका थिए ।
यस्तै कात्तिकमा दुई हजार २९२ जनाले आवेदन दिएका थिए । मङ्सिरमा दुई हजार ७८९, पुसमा दुई हजार २४८, माघमा दुई हजार ५८३, फागुनमा एक हजार ४५९, चैतमा दुई हजार १२३, वैशाखमा दुई हजार १६४ र जेठमा तीन हजार ३५५ जनाले आवेदन दिएको जनाइएको छ ।
यही अवधिमा छ हजार ६१६ राष्ट्रिय परिचययपत्र कार्ड वितरण भएका छन् भने ५०१ दलित र जनजाति परिचयपत्र जारी भएको छ । कार्यालयका अनुसार १२ हजार ३७ राहदानीको आवेदन दर्ता भएकामा ११ हजार ५८२ कार्ड वितरण भएको छ भने सोही अवधिमा ५५७ नाबालक परिचयपत्र जारी भएको छ ।
त्यसैगरी, कार्यालयमा दर्ता १०२ मुद्दामध्ये ६७ वटा फछर्याैट भएको छ भने २११ ठाडो उजुरी दर्तामा २०१ वटा फछर्याैट भइसकेको जनाइएको छ । कार्यालयमा यस वर्ष १९ वटा नयाँ सङ्घसंस्था दर्ता भएका छन्, १९४ वटा नवीकरण भएका छन् । पाँचवटा हातहतियार नवीकरण भएको कार्यालयले जनाएको छ ।
कार्यालयले यही अवधिमा सहिद परिवार, द्वन्द्वपीडित परिवार र वैदेशिक रोजगारपीडित परिवारलाई रु एक करोड २१ लाख ३५ हजार ९८१ तथा विपद्मा परेकाका लागि रु २२ लाख ७५ हजार राहत वितरण गरेको छ । यस्तै कार्यालयले हालसम्म कुल रु छ करोड ५० लाख ६८ हजार ५२९ राजस्व सङ्कलन गरेको छ भने चालु खर्च रु दुई करोड ६३ लाख १५ हजार ४६६, पुँजीगत खर्च रु १० लाख ७४ हजार ११६ र विविध खर्च रु पाँच करोड २९ लाख ७० हजार २४९ भएको जनाएको छ ।
धरौटी विवरणबाट आम्दानी रु तीन करोड ५२ लाख ४७ हजार ७३३ प्राप्त भएको छ भने धरौटी फिर्ताबापत रु ३४ लाख नौ हजार ३९२ दिइएको छ । यही अवधिमा ३४५ पटक विशिष्ट व्यक्तिको भ्रमण भएको जनाइएको छ ।
कार्यप्रगतिबारे प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कार्यालयबाट हुने सेवाप्रवाहलाई छिटोछरितो र सहज बनाउन थप प्रयास भइरहेको बताउनुभयो । “शान्ति–सुरक्षा र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, यसलाई थप चुस्त बनाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।

