नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असार।

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर हुँदै आएको छ ।
भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि वाग्मती सफाइ महाअभियानले भने निरन्तरता पाउँदै आएको छ । महाअभियानबाट सफाइसम्बन्धी जागरण फैलिएको छ ।
सफाइ महाअभियानको ६८५औँ हप्तामा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरअघिका वाग्मती नदी किनारमा आज सफाइ गरिएको छ ।
वाग्मती सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, काठमाडौँ महानगरपालिका वडा नं ९ का सदस्य टेकराज अधिकारी, स्थानीयवासीलगायतको सक्रियतामा भएको सफाइबाट लगभग एक मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ ।
महानगरपालिकाको वातावरण विभाग टेकुको ट्रकमा राखी आज उठाइएको फोहर व्यवस्थापन गरिएको छ ।
