
कुनै बेला जस्ताका टहराले घेरिएको तथा फोहर र दुर्गन्धले भरिने गरेको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । काठमाडौँ महानगरपालिका–२६ विष्णुमती खोला किनारामा अवस्थित १६१ रोपनीमा रहेको बसपार्क विगतमा जस्तो फोहर र दुर्गन्धित छैन ।
काठमाडौँ महानगरपालिकाको पहल र जापान अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका)को प्राविधिक सहयोगमा निर्माण भएको उक्त बसपार्क अहिले व्यवस्थित देखिन्छ ।
टहरा र फोहर हटेसँगै यहाँको यातायात सञ्चालन पनि व्यवस्थित बन्दैछ । मुलुकमा पछिल्ला वर्षहरुमा बढ्दै गएको सवारीसाधनको चापको भार बसपार्कमा पनि परेको त छ, तर चुस्त ट्राफिक व्यवस्थापनका कारण भद्रगोल छैन ।
फोहरको डुङ्गुर थुपार्ने कुनाकाप्चा पनि अहिले सफा छन् । त्यस्तै लामो दूरीका लागि टिकट काट्न जाने सर्वसाधारण यात्रुसँग मोलमोलाई गर्ने विचौलियाहरु पनि अहिले कतै देखिन्नन् ।
न त पहिलेजस्तो धुलाम्मे फुटपाथमै खाना बनाएर बेच्ने ठेलाहरु नै बसपार्कभित्र भेटिन्छन् । यहाँ बिहान बेलुकै सफा गर्ने गरिएको छ भने ठूला बस तथा माइक्रोहरु पनि व्यवस्थित रुपमा मिलाएर पार्किङ गरिराखेको देखिन्छ ।
काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त बसपार्क विसं २०५६ मा तत्कालीन नगरप्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’ अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।
काठमाडौँबाट देशका विभिन्न जिल्लामा जाने लामो दूरीका बसलाई एउटै स्थानबाट व्यवस्थित रूपमा सञ्चालन गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको बसपार्कको व्यवस्थापन विसं २०७१ देखि भने इन्जिनियर दीपक कुँवरले गर्दै आउनुभएको छ ।
सुरुको समयमा ४५० सार्वजनिक सवारीसाधनमात्र पार्किङ गर्न सकिने क्षमतामा रहेको नयाँबसपार्कमा विसं २०७२ सालमा स्तरोन्नति गरी ८०० सवारीसाधन पार्किङ गर्न मिल्ने बनाइएको छ ।
इन्जिनियर कुँवरकै नेतृत्वमा बसपार्कभित्र अव्यवस्थित रुपमा रहेका टहरा हटाएर व्यवस्थित बनाइएको छ । अहिले नयाँबसपार्कभित्र एक नमूना बसपार्कमा हुनुपर्ने पूर्वाधार निर्माण गरिएको छ ।
उक्त बसपार्कभित्र व्यवस्थित टिकट काउण्टर, सवारीसाधनलाई आवश्यक पर्ने पेट्रोल पम्प निर्माण, सुविधासम्पन्न ल्होत्से मल, खाजा घर, अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ ।
यसैगरी, बसपार्कभित्र हरियाली वातावरण निर्माणका लागि विभिन्न फलफूलका बिरुवाहरु रोपिएको छ भने सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको सहयोगमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । बसपार्क र त्यस बाहिरको सुरक्षाका लागि नयाँबसपार्कभित्र प्रहरी प्रभाग र ट्राफिक प्रहरी वृत्त सञ्चालनमा रहेको छ ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर कुँवर आफूले व्यवस्थापन गरेको एक दशकभित्र नयाँबसपार्कभित्र ठूलो आरोहअवरोह झेल्नुपरेको बताउनुहुुन्छ ।
“मैले व्यवस्थापनको जिम्मा लिएसँगै भूकम्प बेहोर्नुपर्यो, त्यसपछि नाकाबन्दी र कोरोना महामारीको समस्या भोग्नुपरो, यसको कारण काम गर्न कठिनाइ भयो, उक्त समस्या नआएको भए अझ काम गर्न सकिन्थ्यो भन्ने लाग्छ”, उहाँ भन्नुहुन्छ ।
ठूलो क्षेत्रफलमा फैलिएको नयाँ बसपार्क सफाइका लागि मात्र दैनिक ५० सरसफाइकर्मी खटिएका छन् । यस्तै, बसपार्कभित्रको व्यवस्थापन र सञ्चालनका क्रममा सयौँले प्रतक्ष्य रुपमा रोजगार पाइरहेका छन् ।
ल्होत्सेले सम्झौताअनुसार हाल काठमाडौँ महानगरपालिकालाई रु एक करोडभन्दा बढी वार्षिकरुपमा राजस्व तिर्दै आएको छ । ल्होत्सेले सम्झौताअनुसार बसपार्कभित्र निर्माण गरिएका संरचना सम्झौता सकिएपछि महानगरलाई हस्तान्तरण गर्नुपर्नेछ ।
पछिल्लो समय ल्होत्से बहुउद्देश्यीय प्रालिले यातायात प्रालिसँगको सहकार्यमा बसपार्कमा टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य पोसाक र परिचयपत्रको व्यवस्था मिलाएको छ ।
बसपार्क छिर्ने मुखमा निर्माण भएको ल्होत्से मल सञ्चालनमा आएको चार वर्षमा दुईपटक आक्रमणको सिकार बन्यो । विसं २०७९ फागुन १ गते ट्राफिक प्रहरीले यातायात मजदुरलाई जथाभावी रुपमा दुःख दिएको भन्दै यातायात मजदुरले गरेको आन्दोलनका क्रममा मलभित्र लुटपाट हुनुका साथै उक्त मलको सिसा फुटाइयो ।
यस्तै, विसं २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ल्होत्से मलमा आगो लगाइयो । पहिलोपटक रु सात करोड र दोस्रोपटक रु ३५ करोडको क्षति भएको थियो ।
हाल काठमाडौँको नयाँबसपार्कबाट देशका विभिन्न भागमा दैनिक ३५० देखि ४०० सार्वजनिक सवारीसाधन आवतजावत हुँदै आएका छन् । ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्ल नयाँबसपार्कभित्रबाट सार्वजनिक सवारीसाधनमार्फत दैनिक १० हजारभन्दा बढी यात्रु आवतजावत गर्ने गरेको बताउनुहुुन्छ । हाल नयाँबसपार्कबाट देशभरका ६० भन्दा बढी जिल्लामा सार्वजनिक बस आवतजावत हुँदै आएका छन् ।
नयाँबसपार्कभित्र रातको समयमा आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि नयाँबसपार्कभित्रै खान तथा सुत्नका लागि होटल तथा लजको व्यवस्था मिलाइएको छ । परम्परागत शैलीलाई विस्थापित गर्दै अहिले नयाँ बसपार्कमा कम्प्युटराइज्ड र अनलाइन टिकटिङ प्रणाली सुरु गरिएको छ ।
पूर्वयातायात व्यवस्थापन प्रालिले काठमाडौँबाट पूर्व चल्ने आफ्ना १०० भन्दा बढी सार्वजनिक सवारीसाधनमा अनलाइनमार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको बताएको छ ।
पूर्वयातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापा पूर्वतर्फ चल्ने सबै सवारीसाधनमा सिसी क्यामरा जडान, अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको बताउनुहुन्छ । सञ्चालक थापा अनलाइन टिकटले गर्दा यात्रुहरू ठगिने डर कम भएको र घरमै बसेर टिकट बुकिङ गर्न सकिने सुविधाले सर्वसाधारणलाई सहज बनाएको बताउनुहुन्छ ।
पछिल्लो समय काठमाडौँका विभिन्न ठाउँमा यत्रतत्र छरिएर रहेका सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट सञ्चालन गर्ने नीति काठमाडौँ महानगरपालिकाले लिएको छ ।
उक्त नीतिसँगै केही समय अगाडि माछापोखरी क्षेत्रको सडकबाट धादिङ, नुवाकोट, रसुवालगायतका जिल्लामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँर प्रत्येक वर्ष बसहरु थपिँदै जाँदा नयाँबसपार्क साँघुरो हुँदै गएको बताउनुहुन्छ ।
उहाँले केन्द्रीय बसपार्कलाई अझै नमूना बनाउनका लागि यातायात व्यवसायी, मजदुर तथा ल्होत्से बहुउद्देश्यीय प्रालि सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
नयाँ बसपार्कको निर्माणसँगै हाल गोँगबु टोखा र माछापोखरी क्षेत्रमा झण्डै एक हजारको हाराहारीमा होटल तथा १०० को हाराहारीमा डान्सबार तथा दोहोरी रेष्टुराँ सञ्चालनमा रहेका छन् । उक्त होटल, रेष्टुराँ र पसलबाट हजारौँले रोजगारी पाएका छन् । नयाँबसपार्कले गोँगबु क्षेत्रको आर्थिक चलायमानमा ठूलो सहयोग पुगेको छ ।
नयाँबसपार्क सञ्चालन रहेको काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारी नयाँ बसपार्क र यस क्षेत्रबाट काठमाडौँ महानगरपालिकालाई वार्षिक करोडौँ राजस्व सङ्कलन हुने गरेको बताउनुहुन्छ ।
पछिल्लो समय नयाँबसपार्क क्षेत्रको सुरक्षासमेत राम्रो हुँदै गएको छ । प्रहरी वृत्त महाराजगञ्जअन्तर्गत रहेको प्रहरी प्रभाग नयाँबसपार्कले नयाँ बसपार्क र यस आसपासको सुरक्षा गरिरहेको छ । यस्तै, सामुदायिक सेवा केन्द्रले सामुदायिक प्रहरी र नेपाल प्रहरीमार्फत यहाँको सुरक्षामा ठूलो सहयोग गरिरहेका छन् । (रासस)
