कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आज सार्वजनिक सूचना जारी गर्दै कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारी साधनलाई अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न रोक लगाइएको जनाएको छ ।

कार्यालयका अनुसार कान्ति लोकपथका अधिकांश सडक खण्ड भौगोलिक तथा भूगर्भीय दृष्टिले अत्यन्त जोखिमयुक्त रहेका छन् । वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च भएकाले यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।

राजमार्गमा हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले उक्त निर्णय लागू गरिएको प्रशासनले जनाएको छ । साथै सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार