नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले यहाँ शनिबार र आइतबार अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।
सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा मौसमी विवरणमा आफूलाई अद्यावधिक गर्न र सडकको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्वजानकारी लिएरमात्र सवारीसाधन सडकमा निकाल्न उक्त कार्यालयले यात्रा सचेतना जारी गरेको हो ।

