पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकमा उहाँले नयाँ बजेट पाँच वर्षको सरकारको आर्थिक मार्गचित्रअन्तर्गत पहिलो किस्ताको सुरुवात भएको बताउनुभयो । उहाँले विगतमा भएका पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन दिनुभयो ।

तोकिएको पूँजीगत खर्च पनि गर्न नसक्ने र राजस्व उठाउन नसक्ने विगतको जस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्नुपर्नेमा अर्थमन्त्री डा वाग्लेले जोड दिनुभयो ।

“गएको आर्थिक वर्ष पूँजीगत खर्च करिब ४९ प्रतिशत हाराहारी मात्र रह्यो । राजस्व पनि रु साढे १२ खर्ब हाराहारीभन्दा बढी सङ्कलन भएन”, उहाँले भन्नुभयो, “चालु नयाँ बजेटमा यो नतिजा स्वीकार्य हुँदैन । कम्तीमा ८० प्रतिशत पूँजीगत खर्च हुनुपर्छ । करिब रु १६ खर्बको राजस्व सङ्कलन लक्ष्य पूरा हुनुपर्छ ।”

बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी र व्यावहारिक कठिनाइ निर्धक्कसँग अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढाउन अर्थमन्त्री वाग्लेले सचिवहरूलाई आग्रह गर्नुभयो ।

अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सहजीकरणका लागि गत आर्थिक वर्षदेखि गरिरहेको रकमान्तर तथा अवण्डा बजेटको विस्तृतीकरणको अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरिएको बताउँदै उहाँले त्यसको सदुपयोग गर्न पनि आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार