एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ तेस्रो साता

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२’ आगामी भदौमा हुने भएको छ ।

तेइसौँ संस्करणको सो अवार्ड भदौ १८ गते हुने मञ्चद्वारा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिए । अवार्डका लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग आजै सम्झौता नवीकरण गरेको छ । गोल्छा ग्रुप लगातार १९औँ पटक अवार्डसँग जोडिएको हो । दुवैबीच गत वर्ष पाँच वर्षका लागि सम्झौता भएको थियो ।

सम्झौतापत्रमा मञ्चका अध्यक्ष अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे । हस्ताक्षरपछि निर्देशक गोल्छाले नेपाली खेलकुदको स्तरवृद्धि गर्न आफूहरु निरन्तर लागिपरेको बताए । मञ्चका अध्यक्ष अधिकारीका अनुसार ‘पल्सर स्पोट्र्स अवार्ड २०८२’ मा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिने छ ।

वर्षका उत्कृष्ट खेलाडी (पुरुष), वर्षका उत्कृष्ट खेलाडी (महिला), युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड प्रदान गरिने छ ।

यस्तै वर्ष खेलाडी (पुरुष), महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिए । त्यस्तै लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन गरिनेछ । भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन छिट्टै सार्वजनिक गरिने उने बताए ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेता तथा सम्मानितलाई जनही रु एक लाख प्रदान गरिनेछ । गत वर्ष पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पुजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए ।

स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसीकुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डबाट बगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए ।

सम्बन्धित समाचार