कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम हुने विश्वास व्यक्त गरेका छन् ।

विश्वका अन्य देशबाट उद्योगका लागि आयत गरिन कच्चा पदार्थलगायतका सामाग्री सडक मार्गको तुलनामा रेलमार्फत ल्याइदा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुने उहाँहरुको भनाइ छ ।

मोरङ व्यापार सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार रेलमार्फत सामान आयात गरिदा लागत मात्र नभई समय पनि ठूलो बचत हुने बताउनुभयो ।

उहाँले सबै कन्टेनरमा जडित विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम (इसिटीएस)का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी वा क्षतिको जोखिम अन्त्य हुने, सामान तथा रेलको निगरानी मोबाइलबाटै गर्न सकिने बताउनुभयो ।

अध्यक्ष राठीले बन्दरगाहमा लाग्ने विलम्ब शुल्कलगायतका शुल्क घट्ने भएकाले पनि नेपाली उद्योगी–व्यवसायीलाई बहुआयामिक लाभ प्राप्त हुने जानकारी दिनुभयो ।

आगामी दिनमा उक्त सेवाको निरन्तरताले नेपालमा उत्पादिन सामाग्री भारत र तेस्रो मुलुक निर्यात गर्न समेत सस्तो र छिटो हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय कार्गाे रेलका लागि विराटनगरमै कार्यालय खोली कन्टेनर उपलब्ध गराउन थालेपछि नेपाली उद्योगको अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता समेत सुदृढ हुने विश्वास गरिएको छ ।

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीले वर्षौंदेखिको सपना पछिल्लो एक दशकदेखि परिणाममुखी प्रयासले हर्षित तुल्याएको उद्योगी व्यवसायिको भनाइ छ ।

नेपाल र भारत सरकारका निकायसमक्ष सङ्घले उद्योगका लागि आवश्यक पर्ने सबै प्रकारका कच्चा पदार्थ कन्टेनर कार्गोमार्फत विराटनगर ल्याउन पाउने व्यवस्था मिलाउन माग माग गर्दैआएको थियो ।

दुवै देशका सरकारले त्यससम्बन्धी नीतिगत र कानुनी जटिलता फुकाइदिएपछि कोलकाता–विराटनगर सीधा कार्गो रेल सेवा सञ्चालनमा आएको छ ।

सङ्घका उपाध्यक्ष अनिलकुमार साह र महासचिव सञ्जयकुमार श्रेष्ठले विराटनगरसम्म कार्गो रेल आउँदा भविष्यमा उद्योग र व्यापारमा लगानी गर्न चाहने उद्योगी र व्यापारीका लागि पनि लाभदायिक हुने भएको छ ।

मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष नवीन रिजालले उद्योगी र व्यापारीहरुको यो प्रयासलाई सरकारले स्वीकार गरी समस्या समाधानमा भएको यो प्रगतिप्रति सरकारलाई धन्यवाद दिनुभयो ।



सम्बन्धित समाचार