नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन।

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।
नेदरल्यान्ड्सको उट्रेच्टमा सम्पन्न खेलमा नेपाल नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको हो । यस शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४४.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । कुल १५८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवड्र्स ६१ रनमा अभिजित रहे । त्यस्तै नोआ क्रोस ३४ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए ।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमा अलआउट भयो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए । गुल्सन झाले २९ तथा दीपेन्द्रसिंह ऐरीले २१ रनको योगदान दिए । सुरुआती ब्याट्सम्यान सस्तोमै आउट भएपछि नेपालले ठूलो योगफल बनाउन सकेन ।
यस हारसँगै नेपालले लिग–२ मा महत्त्वपूर्ण अङ्क गुमाएको छ । नेपालको ३० खेलबाट २४ अङ्क छ । त्यस्तै यस जितसँगै नेदरल्यान्ड्सले २९ खेलमा ३४ अङ्क बनाएको छ । अब शृङ्खलाको आफ्नो तेस्रो खेल नेपालको आगामी सोमबार नामिबियासँग खेल्नेछ ।

