नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन।

राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले शान्ति बिनाको लोकतन्त्र कागजको खोष्टाजस्तै हुने भएकाले लोकतन्त्र मजबुद बनाउन शान्ति र स्थिरता अनिवार्य हुने बताउनुभएको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रादेशिक सरोकारका विषयमा आफ्ना धारणा राख्दै लोकतन्त्रबिना शान्ति सम्भव छैन, त्यसैले लोकतान्त्रिक मूल्यमान्यता जोगाउनु शान्ति अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।
“मुलुकमा देखिएका समस्यालाई सामाजिक सद्भाव र एकताका माध्यमबाटै हल गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “शान्ति नभएका खण्डमा मान्छे तर्सेर बस्नुपर्ने हुन्छ । त्योबेला लोकतन्त्र कहाँ रहन्छ ।” सांसद सिटौलाले सबै धार्मिक सम्प्रदाय, जातीय समुदाय, सांस्कृतिक क्षेत्रमा तमाम व्यक्तित्वहरूसँग सामाजिक सद्भाव कायम गर्न आह्वान गर्नुभयो ।
सुनसरीको देवानगञ्ज र सिरहामा हिंसात्मक घटनामा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले सो घटनाका पीडितलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

