नवकान्तिपुर संवाददाता
काठमाडौँ, १८ साउन l

सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।
यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्नुहुनेछ ।
यस्तै, आजै चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ ।
अपराह्न २:०० बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ । उक्त समितिको बैठक बिहान ११:०० बजे बस्दैछ ।
बिहान ११:०० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, अपराह्न १:०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ ।
