नवकान्तिपुर संवाददाता
काठमाडौँ, २२ साउन l

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको
छ ।
त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नुहुनेछ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नुहुनेछ ।
त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
संसदीय समितिको बैठक बस्दै
आजै तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।
बिहान १०ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ । समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ ।
पूर्वाधार विकास समितिको बैठकमा विद्युत्को वितरण लाइन, विद्युत्का पोलहरू व्यवसथापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गर्ने कार्यक्रम छ । समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ ।
