नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन।

सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको र आवतजावत अवरोध भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि प्रभावकारी काम गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकको आकस्मिक समयमा उहाँहरुले किसान रोपाई सकेर रसायनिक मलका पर्खाइमा रहेको जनाउँदै तत्काल मल आपूर्तिको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
बैठकमा सांसद आशिष गजुरेलले सडक दुर्घटनाबाट दैनिक आठ जनाको मृत्यु हुने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सिन्धुलीमा यही साउन १८ गते बसले ठक्कर दिँदा कार नदीमा खसेको र तीन जना बेपत्ता भइ हालसम्म फेला नपरेको भन्दै उद्धार कार्यलाई सशक्त बनाउन माग गर्नुभयो । उहाँले सडक सुरक्षा प्रभावकारी बनाउन सके ठूलो मात्रामा दुर्घटना कम गर्न सकिने बताउनुभयो ।
सांसद इन्दिरा रानामगरले आइतबार भक्तपुरको सुधार केन्द्रमा एक जनाको मृत्यु भएको घट्ना दुःखद भएको उल्लेख गर्दै सुधार केन्द्रमा सिर्जनात्मक काम सिकाउनुपर्ने, खुला क्षेत्र हुनुपर्ने, सरकारले नियमित अनुगमन गर्नुपर्ने माग गर्नुभयो ।
सांसद पार्वती विकले गए राति जाजरकोट सदरमुकाममा पहिरोले क्षति पुर्याई आवतजावत नै बन्द भएको जानकारी गराउँदै दिर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले किसाले रोपाई सकेर रसायनिक मलको पर्खाईमा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले खाना पकाउने ग्यासको अभावमा जनताको चुलो नबलेको बताउँदै तत्काल समाधान गर्न माग गर्नुभयो ।
सांसद प्रकाश सिंह कार्कीले मन्त्रिपरिषद् बैठकले केही दिन अघि गरेको नेपाल इन्टर मोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डलाई खारेज गरी नेपाल ट्रान्जिट वेयर हाउस कम्पनी लिमिटेडमा गाभ्ने निर्णयमा पुनविचार गर्न माग गर्नुभयो । उहाँले दुवै संस्थाका उद्देश्य र काम फरक भएको उल्लेख गर्दै दुवै संस्थाको आवश्यक सुधार गरी सुदृढ बनाउन मागसमेत गर्नुभयो ।
सांसद समीक्षा बाँस्कोटाले मेची राजमार्गको माइखोला खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको र हरेक वर्ष यात्रुले सास्ती भोग्नुपरेको भन्दै तत्काल दिगो समाधान खोज्न सरकारसँग माग गर्नुभयो ।
सांसद आशिका तामाङले वर्षायाममा खोलाहरुबाट ढुङ्गा र बालुवा निकाल्न निषेध गरिएको भए पनि धादिङलगायत ठाउँमा ढुङ्गा र बालुवा निकाल्ने काम गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै, उहाँले खानी सञ्चालन सम्बन्धी ऐन संशोधन गरेर समयअनुकूल बनाउनुपर्ने माग गर्नुभयो ।
सांसद रमेश मल्लले सल्यानबाट स्याङ्जा जाँदै गर्दा आधीखोलामा डुबेर युवा बलदेव बस्नेत बेपत्ता भएको जानकारी गराउँर्दै उहाँको खोजी तथा उद्धार गर्न सरकारसँग माग गर्नुभयो ।
साथै, पश्चिम सल्यानमा खडेरीका कारण कृषकले धानखेती गर्न नपाएको उल्लेख गर्दै तत्काल सुक्खाग्रष्त घोषणा गरी राहत र दीर्घकालीन समस्या खोज्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसद बोधनारायण श्रेष्ठले सुरक्षित यात्राका लागि सडक मात्रै राम्रो भएर नहुने सवारी चालकको स्वास्थ्यबारे पनि ध्यान दिनुपर्नेमा जोड दिँदै प्रत्येक छ महिनामा सवारी चालकको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल सरकार र यातायात व्यवसायीसँग सहकार्य गरेर सवारी चालकको स्वास्थ्यको विषयमा ध्यान दिनुपर्नेमा आवश्यकता औँल्याउनुभयो ।
सांसद ताहीर अलि भाटले रुपन्देहीमा तीनदेखि सुकुमवासीलाई जग्गा बाड्दै गरेको भनी धेरै प्रचारबाजी भए पनि यसअघिको सरकारले ५०० भन्दा बढी घरधुरीलाई जग्गा वितरण गरिसकेको पनि बिर्सन नहुने बताउनुभयो । साथै, उहाँले प्रचारबाजी गर्नुभन्दा पनि सुकुमवासीको दिगो समाधानमा लाग्न आग्रह गर्नुभयो ।
सांसद प्रकाश पाठकले वैदेशिक रोजगारमा गएका बेला धेरै देशमा संकटमा पर्ने क्रम बढ्दै गएको भन्दै विदेशी भूमिका कति नेपाली संकटमा परेका छन, कति जेलमा छन् भन्ने बारेमा अध्ययन गरी परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्नुपर्ने माग गर्नुभयो ।
सांसद राजेन्द्रकुमार राईले धनकुटाका नवराज तामाङ पढ्न आएको अवस्थामा गत असार २३ गतेदेखि हराएको कतै पनि नभेटिएकोप्रति सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले निजको तत्काल खोजी गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद कामिनी कुमारीले महोत्तरीको जलेश्वर कारागार अत्यन्तै जीर्ण अवस्थामा रहेको हुँदा कैदीबन्दी सुरक्षा निकै कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ३०० जना क्षमता भएको करागारामा ५०० भन्दा बढी कैदी रहेको अवस्थामा समेत तत्काल कारागार पुनःनिर्माण गर्नु माग गर्नुभयो ।

