मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिपरिषद्का सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको बताउनुभएको छ ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कुनै मन्त्रालय वा मन्त्रीले गरेका काममध्ये केहीमा प्रश्न उठ्नु स्वाभाविक भएको बताउनुभयो । प्रश्न उठेकै आधारमा त्यसलाई असहज रूपमा लिन नहुने उहाँको भनाइ थियो ।

सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पार्नुभयो ।

फरक प्रसङ्गमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकार लागिरहेको उहाँले बताउनुभयो । त्यसका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कार्यालय तथा डिलरलाई सक्रिय बनाएर आपूर्ति र वितरणको अवस्था अनुगमन गर्ने तथा समस्या समाधानको प्रयास भइरहेको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार