दोस्रो एकदिवसीय अभ्यास खेल : नेपालको लगातार दोस्रो जित, देवको शतकीय पारी

देव खनालको शतकीय पारीमा भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास (एसिसी प्रिमियर कपको अभ्यास) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा नेपालले आज त्यहाँको कर्नाटक राज्यस्तरीय टोलीलाई पाँच विकेटले हरायो ।

शुक्रबारको खेलमा कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४ दशमलव तीन ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा मध्यक्रमका ब्याटर देव खनालले शतकीय पारी खेले । उनले ११३ बलमा चार चौका र दुई छक्कासहित अविजित १०० रनको पारी खेलेका हुन् ।

आसिफ शेखले ३८, सन्दीप जोराले ३०, अर्जुन कुमालले २६ र रोहितकुमार पौडेलले १२ रन जोडे । अविजित रहेका बसिर अहमदले अविजित २२ रन बनाए । कर्नाटकका लागि बलिङतर्फ एल बन्नुर, आदित्य गोयल, अरविन्दकुमार राई, रितेश भटकल र चीरन्थ शिवरुद्रले समान एकरएक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४२ रन बनाएको थियो । उसका लागि शरथ श्रीनिवासले ४८, सहर्ष रेड्डीले ४३ रन, रितेश भट्कलले ३७, समर्थ श्रीनिवासले ३२ र फैजान खानले २० रन बनाएका थिए ।

नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान तीन/तीन तथा हेमन्त धामीले दुई विकेट हात पारे । कर्नाटकविरुद्धको पहिलो अभ्यास खेलमा नेपालले ११६ रनको जित निकालेको थियो ।

नेपाली टिम केही दिन थप अभ्यास गरेर भारतबाटै प्रिमियर कप खेल्न मलेसिया प्रस्थान गर्ने तालिका छ । प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा भदौ १५ गते बहराइनविरुद्ध खेल्नेछ ।

सम्बन्धित समाचार