कृषि उत्पादनबाट राष्ट्रको अर्थतन्त्रमा मद्दत पुगेको छ :  मन्त्री श्रेष्ठ

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसहितको टोलीले आइतबार कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय, सप्तरी, राजविराज–११ र राजविराज–१ मा रहेको रहेको पम्प हाउसको अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले कृषि उत्पादनबाट राष्ट्रको अर्थतन्त्रमा मद्दत पुगेको बताउनुभयो । उहाँले प्रारम्भिक अनुमानअनुसार सप्तरी जिल्लामा रहेको चन्द्र नहरको सहयोगमा भएको कृषि उत्पादनले मात्र राष्ट्रको अर्थतन्त्रमा रु नौ अर्ब बराबरको सहयोग पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चन्द्रनहर एक सय वर्ष पुरानो भएकाले चुनौती बढेको छ । यस नहरको संरक्षण,  प्रवद्र्धनलगायतका लागि यस वर्ष पहिलाभन्दा तेब्बर बढी  बजेट छुट्याइएको छ ।” आउँदा दिनमा चन्द्रनहरको मुहार फेर्ने काममा अग्रसर हुने उहाँले बताउनुभयो ।

अहिलेको परिस्थितिमा जनचाहना र आजको आवश्यकताअनुसार आमनागरिकलाई उपलब्धि हुनेगरी दिगोपनका लागि काम गर्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले यस वर्ष आकस्मिक बजेट छुट्याइएकाले अल्पकालीन र दीर्घकालीन थप काममा सहयोग पुग्ने बताउनुभयो ।

स्थानीयस्तरको समस्याको पहिचान गरी प्राथमिकतामा राखेर काम गर्नुपर्ने र जिल्लामा रहेका अधुरा योजना छिटोभन्दा छिटो सम्पन्न गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राखेका छौँ । यस वर्ष अध्ययन र अनुसन्धान गरेर थप काम गर्नेछौँ ।”

सो अवसरमा स्थानीयले जिल्लामा सिँचाइ, मलखाद, विद्युत् र उत्पादन गरेको अन्नको बजारीकरण गर्न सधैँ समस्या हुँदै आएको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो । यस्ता समस्या तत्काल समाधानका लागि पहल गर्न मन्त्री श्रेष्ठले सम्बन्धित निकायलाई आग्रह गर्नुभएको थियोे ।

सम्बन्धित समाचार