मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न उहाँले प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम प्रस्ताव पेस गर्नुभएको थियो ।

मुख्यमन्त्री कार्कीको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्यले मत दिनुभयो । उहाँले ५७ मत प्राप्त गर्नुभएको छ ।

कोशी प्रदेशसभामा एमालेका ४० र नेकपाका १७ सदस्य छन् । विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गर्नुभयो । नेपाली कांग्रेसका २९ सदस्य रहेकामा विपक्षमा २२ मत परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित पाँच सदस्य छन् । उहाँहरू तटस्थ रहनुभयो ।

जनता समाजवादी पार्टीका एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू सोमबारको सभामा उपस्थित हुनभएन भने एक जनाले यसअघि राजीनामा दिइसक्नुभएको छ । विश्वासको मतदान प्रक्रियामा ८३  सदस्य सहभागी हुनुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही भदौ ९ गते दिउँसो १ः०० बजे बस्नेछ ।

सम्बन्धित समाचार