नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदौ।

प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरी रसुवाका बाढी प्रभावितप्रति देखाउनुभएको समवेदना तथा सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ ।
बुधबार सामाजिक सञ्जालमार्फत उहाँले नेपालको कठिन परिस्थितिमा भारत सरकारले देखाएको ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । प्रधानमन्त्री शाहले भन्नुभएको छ, “भारतको यो सहयोग र सद्भाव दुई देशबीचको लामो समयदेखिको मित्रताको प्रतिविम्ब हो ।”
यसअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग फोनमा कुराकानी गर्दै नेपालमा बुधबार बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभएको थियो । प्रम मोदीले यस कठिन समयमा भारतका जनता नेपाली जनतासँग ऐक्यबद्ध रहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको थियो ।
“भारत नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता उपलब्ध गराउन तयार छ । उद्धार तथा राहत प्रयासका लागि हाम्रा टोलीले नेपालसँग नजिकबाट समन्वय गरिरहेका छन,” उहाँले भन्नुभएको थियो ।

