एसिसी प्रिमियर कप : नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो

मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत साउदी अरेबियाविरुद्ध नेपालले ‘टस’ हारेर ‘फिल्डिङ’को निम्तो पाएको छ ।

नेपाल र साउदी अरेबियाबीचको प्रतिस्पर्धा क्लालालम्पुरस्थित वायुमास ओभलको मैदानमा भइरहेको हो । नेपाल आज पनि आफ्नो जित यात्रा जारी राख्न चाहन्छ । नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः बहराइनलाई सात विकेट र आयोजक मलेसियालाई छ विकेटले हराएको थियो ।

नेपाली टोलीसामु आज जित निकालेर एक खेलअगावै सेमिफाइनलमा स्थान बनाउने मौका छ । समूह ‘ए’ मा रहेको नेपाल ताजा अवस्थामा दुई खेलबाट चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालविरुद्ध खेल्ने साउदी अरेबिया भने तीन खेलबाट दुई अङ्कसहित तालिकाको पुछारमा छ ।

दुई टोलीबीचको इतिहास

हालसम्म नेपाल र साउदी अरेबियाबीच दुई एकदिवसीय खेलमा भेट भएको छ । जसमा नेपालले एक खेल जितेको छ । यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको विगत छ ।

नेपाल र साउदीले पहिलोपटक सन् २०१२ मा एकदिवसीय प्रतियोगितामा एकअर्काको सामना गरेका थिए । युएईमा भएको त्यस खेलमा नेपालले साउदी अरेबियालाई नौ विकेटले हराएको थियो ।

सन् २०२३ को एसिसी प्रिमियर कपमा भने नेपाल र साउदीबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।

नेपालले आजको खेलमा प्लेइङ–११ मा एक खेलाडी मात्र परिवर्तन गरेको छ । नेपालले साउदीविरुद्ध तीव्र गतिका बलर हेमन्त धामीलाई विश्राम दिएर स्पिनर शेर मल्ललाई मौका दिएको हो ।

आजको खेलमा नेपालको प्लेइङ–११ मा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, गुलशनकुमार झा, करण केसी, सन्दीप लामिछाने (कप्तान), ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।

सम्बन्धित समाचार