प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि कपिलवस्तुका छ स्थानीय तहले रु दुई करोड २५ लाख १३ हजार सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

केही पालिकाले रकम जम्मा गरिसकेका छन् भने केहीले जम्मा गर्ने निर्णयमात्र गरेका छन् । कपिलवस्तु नगरपालिकाले रु ५१ लाख ११ हजार, वाणगङ्गा नगरपालिकाले रु ४५ लाख, बुद्धभूमि नगरपालिकाले रु ४३ लाख ४५ हजार, महाराजगञ्ज नगरपालिकाले ३७ लाख र शिवराज नगरपालिकाले रु ३८ लाख ५७ हजार सहयोग गर्ने निर्णय गरेका छन् । विजयनगर गाउँपालिकाले १० लाख रुपियाँ कोषमा जम्मा गरिसकेको जनाइएको छ ।

पालिकाहरूले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकसमेतको सहभागितामा सहयोग रकम जुटाएका हुन् । विपद्का बेला स्थानीय तहले आफ्नो क्षेत्रभन्दा बाहिरका प्रभावित नागरिकका लागि सहयोग गर्ने क्रम बढेको छ । बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बाढीपीडितको उद्धार, घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावितको पुनःस्थापनामा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले स्थानीय सरकारले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । कपिलवस्तुका अन्य चार स्थानीय तहले बाढी प्रभावितका लागि सहयोग गर्ने तयारी गरेका छन् ।

यसैगरी जिल्लाका उद्योगी, व्यवसायी, सामुदायिक वन, विद्यालय तथा समाजसेवीले समेत उद्धार कोषमा रकम जम्मा गरी सहयोग गर्ने क्रम जारी राखेका छन् । जिल्लाको अन्य संघ संस्था एवम् व्यपारी तथा व्यक्तिहरुले सहयोग गर्ने क्रम जारी नै रहेको छ ।

सम्बन्धित समाचार