राहत, उद्धार तथा पुनःस्थापनाका लागि कोष वृद्धि हुँदै

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा क्रमशः रकम वृद्धि हुँदै गएको छ ।

भोटेकोशी नदीमा आएको बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दाताहरुले रकम जम्मा दाखिला गर्न उत्साहित भएका कारण कोषमा रकम बढ्दै गएको हो ।

लिस्बन (पोर्चुगल) : पोर्चुगलबाट होटल व्यवसायी राजकुमार गौतमले आज रु पाँच लाख आर्थिक सहयोग गर्नुभएको छ । उहाँले सो रकम पोर्चुगलबाटै आज प्रधानमन्त्री राहत कोषमा दाखिला गर्नुभएको हो । उहाँ होटल व्यवसायी हुनुहुन्छ ।

काभ्रेपलाञ्चोक : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) काभ्रे, शाखाले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ३२ लाख ४६ हजार ७५२ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ ।

प्याब्सन पनौतीले रु ११ लाख २४ हजार ३३, प्याब्सन पाँचखालले रु तीन लाख सात हजार ४८४ र बनेपा नगर प्याब्सनले रु १७ लाख ५२ हजार २३५ सहयोग गरिएको प्याब्सनका उपमहासचिव भीमसेन केसीले बताउनुभयो ।

पर्सा : वीरगञ्ज महानगरपालिका– १० को शिवम् बचत तथा ऋण सहकारी संस्थाले रु दुई लाख ५१ हजार प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको अध्यक्ष शिवजीप्रसाद कलवारले बताउनुभयो ।

कपिलवस्तु : तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख ५५ हजार सहयोग गरेको केन्द्रका अध्यक्ष मन्दिप सिंहले बताउनुभयो ।

तनहुँ : तनहुँ समाज, युकेले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु १० लाख १९५ सहयोग गरेको छ ।

समाजले बेलायतमा सङ्कलन गरेको उक्त रकमको चेक आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको तनहुँ समाज युकेका उपाध्यक्ष निर्मला थापाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार