राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन बनाउन सहयोग नगरेको भनी आफूले नबोलेको प्रष्ट पार्नुभएको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उहाँले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पार्नुभयो ।

सभाको बिहीबारको बैठकको शून्य समयमा सदस्यहरूले कानुनमन्त्री गौतमले कानुन बनाउन राष्ट्रियसभाले असहयोग गरेको भनी समाचारमा आएको विषयप्रति आपत्ति जनाउनुभएको थियो ।

“यहाँहरूलाई चोट पुग्ने गरी मैले केही भनेकी छैन, कानुन बनाउनु जटिल प्रक्रिया हो, राष्ट्रियसभाले कानुन बनाउन असहयोग गरेको भनेकी छैन, समाचार र सामाजिक सञ्जालमा तोडमोड गरेर आएका विषयले त्यस्तो परेको भए अब चोट नपुग्ने गरी नै बोल्ने छु, मैले बोलेको विषयमा जिम्मेवारी लिन्छु, नबोलेको विषयमा मैले भन्न सक्दिन, मैले बोलेको कुराले चोट पुगेको भए क्षमा चाहन्छु”, मन्त्री गौतमले भन्नुभयो ।



राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते बुधबार १ः१५ बजे बस्ने गरी अध्यक्ष नारायणप्रसाद दाहालले स्थगित गर्नुभएको छ ।

सम्बन्धित समाचार