नृत्य निर्देशक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा 

भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मानवीय संवेदना र ऐक्यबद्धता प्रकट गर्दै नृत्य निर्देशक संघ नेपालले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको छ।

बाढीका कारण घरबार, धनसम्पत्ति तथा दैनिक जीवनका आधार गुमाउन पुगेका प्रभावित परिवारहरूको पीडा र कठिन परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै, संघले राहत कार्यमा आफ्नो तर्फबाट सहयोग पुर्‍याएको हो। विपद्को यस कठिन घडीमा पीडित परिवारलाई आफूहरू एक्लो नभएको अनुभूति गराउँदै सहयोग र साथ दिनु सबैको साझा मानवीय दायित्व भएको संघले जनाएको छ।

संघका अध्यक्ष भुवनदास श्रेष्ठले दिनुभएको जानकारीअनुसार, संघको केन्द्र तथा विभिन्न प्रदेश, जिल्ला एवं नगर शाखाहरूबाट संकलित कुल ९२ हजार ४ सय ६९ रुपैयाँ बाढी प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

देशभरका विभिन्न तहका कमिटी तथा कलाकारहरूको सक्रिय सहभागिता र सहयोगमा संकलित यस रकमले बाढीबाट पीडित परिवारहरूको दुःखमा केही राहत र आशाको अनुभूति दिलाउन तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा थप टेवा पुर्‍याउने विश्वास संघले लिएको छ।

सम्बन्धित समाचार